दुई दुई पटक किड्नी फेल भएर पनि फेरि अर्को किड्नी ल्याएर,अर्कोसँग मागेर काम चलाएको छु : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा थुप्रै अस्पताल र चिकित्सकहरू उत्पादन भइरहेको प्रसंगमा अबको समयलाई दीर्घ जीवनको समय भन्नुपर्ने बताएका छन्। 

शनिबार नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा लेखक, कवि एवं साहित्यका नेत्रप्रसाद गौतमद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। गौतमका दुई कृति सार्वजनिक भएका छन्। जसमध्येको एउटा ‘इतिवृत्ति’ नामक कृतिको नाममा प्रश्न गर्दै लेखकको उमेर सोधे। छेवैमा रहेका लेखकले ८० वर्ष पुगेको बताए। 

ओलीले भने अहिले नै इतिवृत्ति भनेर लेख्न नहुने भन्दै आफू पनि दुई–दुई पटक किड्नी फेरेर पनि अझै तन्दुरुस्त रहेको जिकिर गरे। ‘भर्खर ८० वर्षको हुनुभयो। थुप्रै कुरा गर्न बाँकी छ, काम गर्न बाँकी छ। उहिलेको जस्तो होइन, यहाँ यत्रो डाक्टर पढाइएको छ, यत्रो अस्पताल खोलिएको छ, यत्रो औषधि छ,’ ओलीले भने, ‘अनि हत्तपत्त त के हुन्थ्यो? अहिले केही छैन। म पनि दुई दुई पटक किड्नी फेल भएर पनि फेरि अर्को किड्नी ल्याएर अर्काको गाडीमा पाटपुर्जा राखेर, अर्कोसँग मागेर काम चलाएको छु। तै पनि म छँदैछु यहाँ।’

लेखकलाई ओलीले अझै केही अरु पुस्तक पनि लेख्न प्रेरित हुनुपर्ने बताए। ‘अबको समय भनेको दीर्घ जीवनको समय हो। स्वास्थ्यका लागि थुप्रै उपचारका कुरा पनि छन्। मेरो इतिवृत्ति भनेर किन लेख्नुभयो मैले बुझेको छैन। यी पुस्तकको विमोचनले उहाँलाई अरु पुस्तक लेखुँ लेखुँ हुन्छ,’ ओलीले भने।ओलीले यति भनिसक्दा अर्को छेउमा बसेका उपमहासचिव प्रदीप ज्ञवालीले थप्छन्, ‘घोषण पनि गरिसक्नुभयो। दुईवटा त लेख्छु लेख्छु भन्नुभएको छ।’

उक्त कुरा सुन्नासाथ ओलीले अर्को प्रश्न गरे, ‘अनि इतिवृत्ति कसरी हुन्छ?’उनले यो कृतिलाई इतिवृत्ति नभनेर जीवनयात्राको एउटा अंश मान्नुपर्ने बताए। ‘उहाँको इतिवृत्ति होइन कि जीवनयात्राको एउटा अंश भन्नुपर्छ,’ उनले भने।