बीपीको सिद्धान्त शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं : कांग्रेसकी नेतृ सुजाता

नेपाली कांग्रेसकी नेतृ एवम पूर्वमन्त्री सुजाता कोइरालाले कांग्रेसलाई एक तहका नेता तथा कार्यकताहरूले बद्‌नाम गरिरहेको टिप्पणी गरेकी छिन् ।

शनिबार काठमाडौँमा आयोजित ४२औं बीपी स्मृति सप्ताहका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले कांग्रेस अहिले सिद्धान्तविहीन जस्तै भएको भन्दै बीपी कोइरालाको सिद्धान्त आत्मसाथ गरेमात्र संगठन जोगाउन सकिने पनि बताइन् । कोइरालाले पुर्खाहरूले संघर्ष गरेर जन्माएको पार्टीलाई एक तहका मानिसहरुले बद्‌नाम गर्न खोजिरहेकाले यसमा सजग हुनुपर्ने धारणा राखिन् । 

 

‘हामी सबै एक भएर पार्टीलाई बचाउनुपर्छ । कांग्रेस गणेशमान सिंह, सुवर्णशमशेर, किशुनजी जस्ता नेताहरूले जन्माएर गर्भिलो इतिहास बनाएको पार्टीलाई एक तहका मान्छेहरूले बद्‌नाम गर्न खोजिरहेका छन् । कांग्रेस अहिले बद्‌नाम भएको छ । अब यसलाई सुधार्ने काम समग्र नेता कार्यकर्ताको हो,’ उनले भनिन्,‘पार्टीभित्र जसले बीपीको विरासत बोकेको छ, जसले बीपीको सिद्धान्तलाई आत्मसात गरेको छ उसले मात्र यो पार्टीलाई बचाउन सक्छ । मलाई अरु पार्टीबाट कुनै आशा पनि छैन, सरोकार पनि छैन । तर नेपाली कांग्रेस आज सिद्धान्तविहीन भएको छ, पार्टी बचाउन ढिला भइसकेको छ ।’ 

सिद्धान्तबिना राजीतिक पार्टी बाँच्न नसक्ने बताएकी कोइरालाले कांग्रेस अहिले त्यही अवस्थामा पुगेको बताइन् । डा. शेखर कोइरालाले बीपीको सिद्धान्तलाई आत्मसाथ गरिरहेको उल्लेख गर्दै उनले सबैले उनलाई समर्थन गर्नुपर्ने बताइन् । 

‘शेखर कोइरालाले बीपीको सिद्धान्तलाई केही हदसम्म बचाउने काम गर्नुभएको छ । उहाँलाई हामी सबैले खुलेर समर्थन गर्नुपर्छ । बीपीले परिकल्पना गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद केही पनि नरहेको अवस्थामा शेखरले केही हदसम्म त्यो प्रयास गर्नुभएको छ’ उनले भनिन् ।

केही दिनअघि मात्र नेतृ कोइराला विशालनगरस्थित शेखरको सचिवालयमा पुगेर भावी सभापतिका रुपमा शेखरलाई अघि बढाउनुपर्ने बताएकी थिइन् ।