झण्डै १५ करोड खर्च भएको फिल्म ‘शाम्बाला’ भदौ २८ मा प्रदर्शन हुने

काठमाडाै, १२ साउन : मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’को नेपाल प्रदर्शन मिति तोकिएको छ। यो फिल्म आगामी भदौ २८ गते अर्थात् सेप्टेम्बर १३ मा रिलिज हुने पक्का भएको हो। 

निर्माण टिमले पत्रकार सम्मेलन गर्दै फिल्मको प्रदर्शन मिति जानकारी गराएको हो। अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगिसकेको यो फिल्म नेपालका हलमा प्रदर्शन गर्न लागेकामा निर्देशक भामले खुसी व्यक्त गरे।

‘मेरो पहिलो फिल्म कालो पोथी केही हलमा मात्र रिलिज भएको थियो। यो भने नेपालभरिनै रिलिज हुँदै छ। दर्शकहरूको प्रतिक्रिया सुन्न उत्साहित छु,’ उनले भने, ‘कालोपोथी रिलिज हुँदा विदेशमा देखाएर सकेपछि मात्रै नेपालमा रिलिज गरेको भन्ने गुनासो आएको थियो। त्यही गुनासोलाई मध्यनजर गर्दैं हामीले यसपटक छिटो नेपालमा रिलिज गर्ने निर्णय गरेका हौँ। नेपाल प्रदर्शनपछि यो फिल्म विदेशका थुप्रै देशमा रिलिज हुनेछ।’

यो फिल्म यसअघि विश्वप्रसिद्ध चलचित्र महोत्सवहरूमा पुगिसकेको छ। बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म अगस्ट पहिलो साता स्विट्जरल्यान्डको लोकार्नोमा स्क्रिनिङ हुँदै छ। पियाजा ग्रान्डे विधामा छनोट भएको यस फिल्मलाई हजारौँ दर्शकले हेर्नेछन्। 

‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो। उक्त फेस्टिभलको विधामा छनोट हुने यो पहिलो नेपाली फिचर फिल्म हो। एड्भेन्चर र म्याजिक रियालिजम् जनराको यस फिल्मलाई एप्पल इन्टरटेनमेन्टले नेपालभरि प्रदर्शन गर्न लागेको हो। 

यो फिल्म बनाउन झण्डै १५ करोड खर्च भएको निर्देशक भामको भनाइ छ। यसअनुसार ‘शाम्बाला’ हालसम्मकै नेपालको महँगो फिल्म चलचित्र बनेको छ।‘हामीले यस फिल्म निर्माणका लागि बजेट १४ करोड २१ लाख उल्लेख गरेका छौँ। तर, सबै हिसाब गर्दा १५ करोड खर्च भएको छ। जसअनुसार नेपालकै महँगो फिल्म भन्न मिल्छ,’ उनले भने।

यस फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बेल्जियमको वितरण कम्पनी बेस्ट फ्रेन्ड फरेभरले लिएको छ। फिल्म निर्माणमा फ्रान्स, नर्वे, हङकङ, टर्की, ताइवान र अमेरिकी कम्पनीले सहकार्य गरेका छन्।यस फिल्मले नेपालको चलचित्र विकास बोर्डसहित विश्वभरका १७ अन्तर्राष्ट्रिय संस्थाबाट फन्ड जितेको छ। फिल्मलाई नेटफ्लिक्समा रिलिज लागि विदेशी निर्माता लागिपरेको समेत भामले सुनाए।

भामको दोस्रो निर्देशकिय फिल्म ‘शाम्बाला’मा थिन्ले ल्हामो र सोनम तोप्देन मुख्य भूमिकामा छन्। यस फिल्मले नेपाली पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा प्रस्तुत गर्छ। फिल्मको कथा भामसहित अविनाश विक्रम शाहीले लेखेका हुन्।

नेपाली र तिब्बती भाषामा रिलिज हुने फिल्मलाई नेपालमा अंग्रेजी र नेपाली सबटाइटलमा समेत प्रदर्शन गरिने छ। सहरी क्षेत्रमा अंग्रेजी सबटाइटलमा देखाइनेछ।