उत्तर कोरियाली ह्याकरहरुले बेलायत, अमेरिका र दक्षिण कोरियाकाे परमाणु एवम् सैन्य मामिलासम्बन्धी गोप्य सूचना चोर्ने प्रयास

काठमाडाै। बेलायत, अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाली ह्याकरहरुले परमाणु एवम् सैन्य मामिलासम्बन्धी गोप्य सूचना चोर्ने प्रयास गरेका आरोप लगाएका छन् । एन्डेरिअल एन्ड ओनिक्स स्लीट नामले चिनिने एउटा उत्तर कोरियाली ह्याकरहरुको समूहले विश्वभरिका सरकार तथा निजी कम्पनीलाई निसाना बनाइरहेको उनीहरुको दाबी छ ।

उत्तरकोरियाको सैन्य तथा परमाणु कार्यक्रमको महत्वकांक्षालाई अघि बढाउन त्यहाँको सरकारकै लगानी र संरक्षणमा ह्याकरहरुले रक्षा, एरोस्पेस, पारमाणविक र इन्जिनियरिङ संस्थाहरूबाट सूचना चोर्न बारम्बार प्रयास गरेका अमेरिका, बेलायत र दक्षिण कोरियाले निकालेको संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाली समूहले पछिल्लो समय यूरेनिअम सम्वर्धनदेखि ट्याङ्क, पनडुब्बी तथा पानीजहाजमा आक्रमण गर्न पानीभित्र प्रहार गरिने बमसम्मका जानकारी लिन खोजिरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । ह्याकरको यो समूहले बेलायत, अमेरिका, दक्षिण कोरिया, जापान, भारतसहित कैयौँ देशलाई निसानामा पार्न खोजेको छ ।

जासुसी र रकम आर्जन गर्ने दुवै उद्देश्यलाई संयोजन गरेर हुने त्यस्तो साइबर आक्रमणले संवेदनशील प्रविधि तथा दैनिक जीवन दुवैमा प्रभाव पार्ने पनि विज्ञप्तीमा भनिएको छ । उत्तर कोरियाली ह्याकरहरुले विभिन्न संस्थाहरुलाई ह्याकिङ गरेर फिरौती रकम माग गर्ने गरेका यस अघि नै आरोप लाग्दै आएको छ ।