आऊ बलात्कारीको पूजा गरौं !

काठमाण्डौं, १२ साउन : गौशाला २६ ले आफ्ना बलात्कारी सन्दिप लामिछननेसंग डराएर अब लड्नुभन्दा उनीविरुद्धको पुनरावेदन नै स्थगित गरिदिन माग गर्दै दिएको निवेदनले मुलुकको न्यायव्यवस्थामाथि गम्भीर व्यङ्य गरेको छ । 

बलात्कारी नै होस् तर त्यो बलियो छ, त्यो शक्तिशाली छ, त्यो लोकप्रिय छ र त्योसंग पैसा छ भने नेपाली समाज पछिपछि लाग्दो रहेछ भन्ने देखेर गौशाला २६ गलेकी छिन् । जुन मुलुकको बलात्कारीको क्रेज यति धेरै छ त्यो मुलुकमा लड्नुको के मजा? जुन मुलुकमा बलात्कारीकै हाइहाइ गरिन्छ, त्यो मुलुकमा लड्नुको के मजा ? गौशाला २६ त्यस्ती एउटी नारी पात्र बन्न पुगेकी छिन् जसले सन्दीप लामिछाने जस्तो लोकप्रिय बलात्कारीहरुसंग लड्न नसकिने निष्कर्ष निकालेकी छिन् । 

अब हेर्नुछ, बलात्कारीको अझै कति पूजा गरिन्छ र गौशाला २६ जस्ता पिडित नारीपात्रहरुलाई कत्तिको दुत्कारिन्छ ।

गौशाला २६ नलडेकी होइनन् धेरै लामो लडाईं लड्दा पनि बलात्कारीकै पक्षमा माहौल बढ्दै गएको, कानुन व्यवसायी र न्यायाधीशहरु समेत बलात्कारीकै पक्षमा लागेको, बलात्कारीले पुरस्कार पाउंदै गएपछि उनी गलित भएकी छिन् । उच्च अदालतले मुद्दा नै बलात्कारीको पक्षमा फैसला गरिदिएपछि त उनको विकल्प पनि थिएन, त्यसैले उनले एउटा यस्तो कदम चालिन जसका कारण कानुन नै लज्जित हुन पुगेको छ । अब सर्वाेच्च अदालतसम्म म लड्न सक्दिन भन्ने पिडितको निवेदनले मुुलुकमा नाङगैहिडन रुचाउनेहरुलाई समेत लज्जित बनाएको छ । 

बलात्कारीहरुको पक्षमा माहौल बन्दै जांदा पिडितहरु कि त शारदा गिरीजस्तो इजलासमै न्यायाधीशकै अघिल्तिर विष पिउन तयार हुनुपर्छ, अन्यथा न्यायाधीश र वकिलका दिमागमा पिडितको पिडा घुस्न सक्दैन ।

बाध्य भएर गौशाला २६ कै जस्तो अवस्था नभएको होइन न्यायक्षेत्रकै बद्नाम अर्काे व्यक्ति कृष्णमान प्रधानबाट यौनदासी बनेकी पिडितको हकमा समेत । लामो समय मेलमिलाप गर्नुपर्ने अवस्थामा पुगेकी र मिलापत्र गरेर मुद्दा सामसुम गर्नुपर्ने अवस्थामा पुगेको समाजले यौनपिपासु कृष्णमान प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा बढुवा गरेमा उनको हालत पनि गौशाला २६ कै अवस्थामा पुग्दैन भन्न सकिदैन ।

(यौनपिपासुको महत्वपूर्ण जिम्मेवारी खारेज गर)

निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधान, वकिल आशिष पौडेल र जिल्ला न्यायाधीश भुवन गिरीका कारण न्यायक्षेत्र बद्नाम बन्दैगएको छ भने यौनपिपासुहरुको मनोबल, इज्जत र उनीहरुको बढुवा भइरहेको छ । 

हेर्दाहेर्दै हत्कडिमा सजिएर जेलको हावा खानुपर्ने यौनपिपासुहरुप्रति पिडित महिलाहरु विवाहको नाटकमा रमाउनुपर्ने, मेलमिलापको खातिर भनेर दिइएको भरणपोषणको रकम लिएर बाध्यतामा रमाउनुपर्ने र आफूभित्रको कुण्ठा दबाउन बाध्य हुनुपर्ने अवस्था कसका कारण सिर्जित हुंदैछ ? विश्लेषण गर्नुपर्ने दिन आएका छन् ।

आफ्नो पीडा राखौं समाजले रमाइलो मान्ने, न्यायाधीश र वकिललाई नाटक जस्तो लाग्ने, पीडा सार्वजनिक नगरौं आफूभित्रको उकुसमुकुसले जीवन नै बर्बाद हुने अवस्थामा पुगेपछि पिडितहरु कहां जाने ? कतिसम्म भने यौनपिपासुहरु कार्यालयमै समय ओल्टोकोल्टो पारेर पिडितलाई बाध्य बनाउंदा समेत पिडितहरु बोल्न सक्ने अवस्थामा छैनन् ।

(यौनकाण्डका चर्चित कालोकोटधारीहरुको कर्तुत यस्तोसम्म हुन्छ !)

कार्यालय समयपछि पनि ओभरटायम काममा लगाउन सिपालु यौन पिपासुहरुप्रति न्यायालयले देखाएको रवैयाले पिडितहरु या त गौशाला २६ बन्छन् या त अधिवक्ता आशिष पौडेलकी पिडित महिला झै विवाहको नाटक रच्न बाध्य हुन्छन् या कृष्णमान प्रधानकै पिडित जस्तो भरणपोषणको रकममा रमाउन बाध्य हुन्छन् । यस्तो अवस्था देख्दादेख्दै पनि राज्यको कानुन, संसदीय सुनुवाई समिति र बार काउन्सिल र न्यायाधीशहरुलाई लाज नलाग्नु भने बडो ताजुबलाग्दो विषय बनेको छ ।

कृष्णमान प्रधानले त ती पिडितलाई कतिसम्म गरेछन् भने उनलाई जीवनभर भरणपोषणको व्यवस्था गरिदिने, विभिन्न नामबाट लिएका चेकमार्फत दिएको एक करोडको रकमले जीवन धान्ने व्यवस्था गर्ने र कृष्णमान प्रधानसंग समयसमयमा भेट गरिदिने सुमधुर वातावरण कायम गराउनेसम्मको व्याध्यताले पिडित महिलाहरु एक्काइशौं सताब्दीमा पनि पिडकसंग कतिधेरै तर्सिनु पर्ने अवस्थामा रहेछन ? 

पछिल्लो कालमा न्यायक्षेत्रमा महिलाको आकर्षण बढ्दै गएको, छोरीहरुले कानुन अध्ययनमा कलेजहरु टप गर्दै गएको, बार काउन्सिलको परीक्षामा पहिलो हारमै छोरीहरु देखा परिरहेको र अदालत र बारमा छोरीहरु पहिलो लहरमा उभिनपुग्ने वातावरण बनीरहेको सन्दर्भमा यौनपिपासुहरुले न्यायक्षेत्रलाई बद्नाम बनाउंदै लगेको रहेछन् । कृष्णमान प्रधान, भुवन गिरी र आशिष पौडेलहरु त्यस्ता कुपात्र हुन जसले देशैभरका छोरीहरुलाई त्रसित बनाइसकेका छन् र भित्रभित्रै कानुनप्रतिको आकर्षणबाट टाढिन डर पैदा गरिरहेका छन् । 

यौनपिपासुलाई अवसर दिने, जिम्मेवारी दिने र सफाइ दिने अवस्थाले कि त गौशाला २६ को उदय हुन्छ, कि त कृष्णमान प्रधानकी पिडितको अवस्था आउंछ कि त आशिष पौडेलकी पिडितको अवस्थाले विवाहको नाटक मन्चन गराउंछ । 

बलात्कारीहरुसंग डराएका नारीहरु विवाहको नाटक रच्न, मिलापत्र गर्न र मुद्दा नै फिर्ता गर्नुपर्ने अवस्थामा पुग्दा नेपालका न्यायाधीश, वकिल र सांसदलाई लाज नलाग्नु अर्काे उदेकको विषय बनेको छ । कानुनलाई कोरामिन दिने न्यायाधीश र वकिल पीडाको रमित बन्दा कानुन कुन हालतमा पुग्दो रहेछ भन्ने यी चरम उदाहरण हुन् । जबसम्म पिडित न्यायाधीशको परिवारको सदस्य बन्दैन, जबसम्म पिडित वकिलको परिवारको सदस्य बन्दैन तबसम्म नारीको अस्मीताको विषय नाटकको पटकथा बन्न पुग्दो रहेछ भन्ने प्रमाणित भइसकेको छ ।

सहकर्मीलाई नै कार्यालय समय पछि वा अरुको समय ओल्टोकोल्टो पारेर यौनतृप्ति लिने काटोकोटधारीहरुको कालो कर्तुत कति घिनलाग्दो हुनसक्छ भन्ने कुराको नमूना बन्न गएका छन् प्रधान, गिरी र पौडेल । न्यायपालिकाकै ठूलाबडा भनाउंदाहरुको समेत आशिर्वाद पाएका प्रधानको यो चरित्रले अब निर्वाचन आयोगको आयुक्त बन्यो भने सबै न्यायधीश, वकिल, कानुनकमी र जनताको आवाज उठाउने पत्रकारहरुको अनुहारमा कालो पोतिनेछ । 

सहकर्मी महिला कानुन व्यवसायीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका आशिष पौडेल समेत केहीदिनकै बीचमा धरौटीमा छुटिसकेका छन् । पिडितसंग विवाहको नाटक गरेर छुटेका अभियुक्तले अब कसकसमाथि आक्रमण गर्ने हुन् त्यसको ठेक्का अदालतले लिन्छ? प्रहरीले लिन्छ या कसले लिन्छ ?

अदालतबाटै पटक पटक म्याद थप गरेर अनुसन्धान भई अनुसन्धानबाट प्रमाणित भएको पिडकलाई धरौटीमा छाड्दा पिडितमाथि त डरको मारा छंदैछ, अन्य महिला, कानुनका विद्यार्थी र समग्रमा कानुनप्रति नै व्यङ्य सिर्जना गरिदिएको छ ।

सहकर्मी महिला कानुन व्यवसायी (परिवर्तित नाम सिंहदरबार २६ग/०८०।०८१) बाट जाहेरी दर्ता भएपछि असार ७ मा अधिवक्ता पौडेललाई प्रहरीले पक्राउ गरेको थियो भने असार १९ मा धरौटीमा रीहाई गरिदिएको छ । मुद्दामा दोषी हुनसक्ने आधार देखिएपछि अदालतले धरौटी माग्ने गरेको पाइन्छ । सबैसबै मुद्दामा धरौटी नदिइने तर वकिल बलात्कारीलाई धरौटी दिने कानुनले लिएको नरमपन्थ पनि ताजुबलाग्दो छ ।  

आफ्नो मातहतमा रहेर काम गर्ने महिलालाई बलात्कार गरिने कार्यलाई अदालतले कठोर ढंगले लिने व्यवस्था हुैदाहुंदै कतिपय बलात्कारीप्रति अदालतलको नरम व्यवहारले समाज नै त्रसित बन्न पुगेको छ । नैतिक पतन देखिने फौज्दारी मुद्दामा सजाय पाएपछि मात्रै सम्बन्धित नियमनकारी निकायले सेवाबाट बर्खास्त गर्ने कानुनी व्यवस्था पनि ताजुबलाग्दो छ । यस्ता अपराधीले काम गर्न पाइरहनुपनि कानुनप्रतिको बलात्कार बाहेक केही होइन ।

अधिवक्ता पौडेलले सहकर्मी (परिवर्तित नाम सिंहदरबार २६ग/०८०।०८१) महिला कानुनव्यवसायीलाई काम छ आउंछु भन्दै गएर बलात्कार गरेको जोहरी दिएकी थिइन ।  युवा महिला कानुन व्यवसायीलाई कामको अवसर दिने भन्दै पौडेलले पटकपटक आफ्नो फेसबुक पेज मार्फत विज्ञापन गर्दै आएका कारण उसको महिलाप्रतिको मनोविज्ञान पुष्टी हुन्छ । महिला कानुन व्यवसायीलाई फर्ममा आकर्षित गर्दै यौन शोषणको प्रयास गर्नु वकालतको बेइज्जति, बदनामी र कानुनको हुर्मत लिने कार्य बाहेक केही होइन ।

पौडेलले फेसबुक विज्ञापनमा नै ३० बर्षभन्दा कम उमेर समूहका एलएलवी र एलएलएम गरेका महिला कानुन व्यवसायीलाई प्राथमिकता दिइएको प्रचार गर्दै आएका थिए । एकजना बरिष्ठ अधिवक्ताको कार्यालयमा काम सिक्न भनेर छिरेका पौडेलले वरिष्ठ अधिवक्ताकी श्रमितिलाई नै ‘आइ लभ यु, म तिमी विना बांच्नै सक्दिन’ भन्दै मेसेज पठाउने गर्दा समेत उनी खुलेर कारबाहीमा लाग्न नसक्नुले बलात्कारीहरुको मनोबल बढ्न जांदो रहेछ भन्ने देखिएको छ ।

कम्तिमा पनि एकदर्जन भन्दा बढी महिलालाई पौडेलले सताइसकेको भएतापनि इज्जतको डरले कोहीपनि बोल्न र उजुर गर्न सकिरहेका छैनन् । कानुन व्यवसाय जस्तो मर्यादित पेशामा महिलालाई यो स्तरको असुरक्षा हुंदा पनि राज्यका निकायहरु असंवेदनशिल हुने अवस्थालाई कहिल्यै उचित मान्न सकिंदैन । 

यौनपिपासुहरुलाई तत्काल कारबाही गरी तिनको इजाजत खारेज गर्न तथा न्यायक्षेत्र तथा कानुनक्षेत्रको बद्नामीलाई रोक्न नसक्ने अवस्थाले गौशाला २६हरु जन्मदै जानेछन् । राज्यले बलात्कारीलाई सजाय गर्दैन, न्यायाधीश, सांसद र वकिलहरु बलात्कारसंग डराएर बलात्कारीलाई पुरस्कृत गर्दै लैजान्छन भने आऊ सबै पिडितहरु मिलेर बलात्कारीको पूजा गरौं ।