चार सय परिवारलाई खानेपानी

काठमाडौँ, १२ साउन : म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको ३ वटा खानेपानी आयोजना निर्माण भएको छ । 

नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको रु.१ करोड ८७ लाख ९० हजार ९८६ को लागतमा निर्माण भएका ३ वटा आयोजनाबाट ४०९ घरधुरी लाभान्वित भएका छन् । 

ठूलोरुममा २७०, बिलबाङमा ६४ र कलान भनारी खानेपानी तथा सरसफाई आयोजनाबाट ७३ घरधुरीमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको मालिका गाउँपालिका–२ का वडा अध्यक्ष उदयबहादुर बुढाथोकीले जानकारी दिनुभयो । 

यसअघि सार्वजनिक धारा मार्फत खानेपानी वितरण हुने गरेको थियो । घर, आगनकै धारामा नियमित पानी आपुर्ति हुन थालेपछि उपभोक्ताको समयको बचत भएको छ । धाराबाट पानी ओसार्दा हुने दुःख र झञ्जट हटेको छ । 

स्थानीयबासीको दैनिकी र जिवनशैली परिवर्तन भएको छ । स्वास्थ्य र सफा खानेपानी आपुर्ति हुन थालेपनि दुषित पानीका कारण हुने स्वास्थ्य समस्या न्युनीकरण हुने अपेक्षा गरिएको छ ।  खानेपानीको व्यवस्थित र मितव्ययी प्रयोगका लागि मिटर जडान गरि हेरालु राखिएको वडा अध्यक्ष बुढाथोकीले बताउनुभयो ।   

रु. १ करोड १५ लाख ७ हजार ४२४ को लागतमा निर्माण भएको ठूलोरुम खानेपानी तथा सरसफाई आयोजना मार्फत १ हजार ४२३ र रु. ३६ लाख ६५ हजार ८०४ को लागतमा निर्माण भएको बिलवाङ खानेपानी तथा सरसफाई आयोजनाबाट ३६२ जनसंख्या लाभान्वित भएका छन् । 

कुल रु. ३५ लाख ७४ हजार ७५८ को लागतमा निर्माण भएको कलात भनारी खानेपानी तथा सरसफाई आयोजना मार्फत ७३ घरधुरीका ३४४ जनसंख्या लाभान्वित भएका छन् । ४११ जना विद्यार्थी अध्ययनरत विद्यालयमा १ वटा धारा जडान भएको छ । 

नेवासँगको साझेदारीमा मालिका गाउँपालिकामा यस वर्ष ६ वटा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । वडा नम्बर २ मा निर्माण भएका ३ वटै आयोजनाको शुक्रबार गाउँपालिका अध्यक्ष गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ति पुन र वडा अध्यक्ष बुढाथोकीले उद्घाटन गर्नुभएको थियो ।