दुर्घटनाका पीडितप्रति सौर्य एयरलाइन्स र सरकारको चरम संवेदनहीनता

गत बुधबार त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्स दुर्घटनाका पीडितप्रति कम्पनी र सरकारले चरम संवेदनहीनता देखाएका छन् । उनीहरुको बेवास्ता र उपेक्षाका कारण ज्यान गुमाउने १८ मध्ये १३ जनाको शव अझै अस्पतालमै छ । ५ जनाको मात्र शव आफन्तले बुझेका छन् । 

शुक्रबार बिहान शवहरूको पोस्टमार्टम सकिएपछि आफन्तलाई शव बुझ्न आग्रह गरिएको थियो । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग परिसरमा शव बुझ्ने सूचनाका लागि आफन्तहरू कुरिरहेका पनि थिए । त्यस क्रममा को–पाइलट सुशान्त कटुवाल, राजाराम आचार्य, उद्धप पुरी, अश्मिन निरौला र श्याम विन्दुकरको शव आफन्तले बुझेका छन् । अन्य शवहरू आफन्तको समन्वयमा बुझाइने प्रहरी अधिकारीले बताएका थिए ।

दुर्घटनामा ज्यान गुमाएका १८ मध्ये १३ जनाका शव अस्पतालमै छन् । शव परीक्षण र पहिचानको काम सकिएपछि प्रहरीले तीन–तीन जनाका दरले आफन्त गएर शव बुझ्न सक्ने जनाउ दिएका थिए । तर, आफन्तहरू हच्किए । किनभने, न त्यहाँ एयरलाइन्सका प्रतिनिधि थिए न त नियामक निकाय नागरिक उड्डयन प्राधिकरण वा पर्यटन मन्त्रालयका अधिकारी नै त्यहाँ थिए ।

आफन्तहरूले एयरलाइन्स र सरकारी प्रतिनिधि भएर शव जिम्मा लगाउँछन् होला भन्ने अपेक्षा गरेका थिए । साथै बिमा, क्षतिपूर्ति, क्रियाखर्च र शव ढुवानीको व्यवस्थाबारे स्पष्ट पारिदिए हुन्थ्यो भन्ने उनीहरूको भनाइ थियो । तर, यसबारे केही नभनी एकाएक शव लैजाऊ भनेपछि पीडामाथि थप पीडा थपिएको गुनासो उनीहरूले गरिरहेका थिए ।

त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभागका अनुसार १४ वटा शवलाई आफन्तले दिएको हुलिया र क्लिनिकल तथ्यको आधारमा पहिचान गरिएको थियो। त्यस्तै चारवटा शव अत्यधिक जलेका कारण डेन्टल एक्जामिनेसनमार्फत पहिचान गर्न सम्भव भएको थियो। यो सबै प्रक्रिया सक्न करिब ४ बजेको थियो।

आफूहरूमाथि परेको पीडामा सरकार र विमान कम्पनीले बेवास्ता गरेको भन्दै उनीहरूले शव नबुझ्ने अडान राखे। क्षतिपूर्ति दिलाउन सरकारले पहल गर्नुपर्नेमा त्यो पनि नगरिएको उनीहरूको भनाइ थियो । अस्पताल परिसरमा भेला भएका आफन्तहरू निकै आक्रोशित भएपछि प्रहरीले शान्त पार्ने प्रयास गरेको थियो। पीडित आफन्तहरू सरकारले वार्तामा बोलाउनुपर्ने र आफ्ना माग सुनेर सम्बोधन गर्नुपर्ने भन्दै थिए ।
 

सौर्य एयरलाइन्स प्रालिका तर्फबाट अध्यक्ष दीपककुमार पोखरेलले शुक्रबार एक थान विज्ञप्ति जारी गरी पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सदभाव सधैँ रहने उल्लेख गरेका छ। तर, केकस्तो सहयोग भन्ने स्पष्ट पारिएको छैन ।

केवल औपचारिकतास्वरुप विज्ञप्तिमा भनिएको छ, ‘सौर्य एयरलाइन्सको व्यावसायिक विकास र विश्वसनीयता आर्जनका लागि उहाँहरूले निष्ठापूर्वक गर्नुभएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधैँ जीवन्त एवं चिर स्मरणीय इतिहासको रूपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौं।’बुधबार बिहान काठमाडौँबाट पोखराका लागि बिहान ११:११ मा उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटना भएको थियो ।

व्यावसायिक उडान नभएको र अभिलेख पनि राम्रोसँग नराखेको कारण पीडित परिवारले बिमावापतको रकम पाउने कि नपाउने भन्ने यकिन छैन । दुर्घटनाको कारणबारे छानबिन गर्न गठित आयोगले पनि यससम्बन्धी कागजात मगाएको छ। सरकारले बुधबार नै नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सुमनको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको थियो ।

चालक मनीषरत्न शाक्यको भने जीवित उद्धार सम्भव भएको थियो। उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ।दुर्घटनामा घाइते भएका पाइलट मनीषरन्त शाक्यलाई आईसीयूबाट नर्मल वार्डमा सारिएको छ। काठमाडौँ मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा.डा. मीना थापाका अनुसार, उनलाई शुक्रबार बिहान आईसीयूबाट सारिएको हो।

शाक्यको स्वास्थ्यमा उल्लेख्य सुधार भएको उनले बताइन्। ‘उहाँ (मनीषरत्न शाक्य) को स्वास्थ्यवस्था सुधार भएको छ। अहिले आईसीयूबाट नर्मल वार्डमा सारिएको छ,’ उनले शुक्रबार दिउँसो भनिन्। चिकित्सकहरूले उनको मेरुदण्डमा समस्या रहेको भन्दै अपरेसन गर्नुपर्ने बताएका थिए। यद्यपि, अहिलेसम्म उनको मेरुदण्डको अपरेसन भएको छैन। ‘अपरेसन गर्ने कि नगर्ने भन्नेबारे हड्डीको विशेषज्ञसँग कुरा हुँदैछ,’ डा. थापाले भनिन्।