मुख्यमन्त्री लामाद्वारा सिटी स्क्यान सेवा शुभारम्भ

वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले नुवाकोटको त्रिशूली अस्पतालमा सिटी स्क्यान सेवा शुभारम्भ गर्नुभएको छ । अस्पतालको ६०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री लामाले अस्पतालको गुणस्तरीय सेवाका लागि सिटी स्क्यान उपकरण निकै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । 

“सिटी स्क्यान सेवा नहुँदा बिरामीहरु काठमाडौँ जानुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो “अस्पतालको सेवा र यसप्रति बिरामीको विश्वास पनि बृद्धि हुनेछ ।” अस्पतालको सेवा विस्तार र गुणस्तरीय स्वास्थ्य प्रवाहका क्रममा आगामी दिनमा प्रसूति सेवा सुरु गर्न र भौतिक संरचना निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने उहाँको भनाइ थियो । 

कार्यक्रममा वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले त्रिशूली अस्पतालसहित विभिन्न जिल्लाका प्रादेशिक अस्पतालले प्रवाह गरेको सेवा प्रभावकारी रहेको उल्लेख गर्दै प्रशंसा गर्नुभयो । अस्पतालको सेवा प्रवाह मूल्याङ्कनको सूचकमा त्रिशूली अस्पताल देशभरमै उत्कृष्टमा रहेकाले आगामी दिनमा सेवा विस्तार र गुणस्तरमा थप सुधारलाई मध्यनजर राख्न उहाँले सुझाव दिनुभयो । हाल एक सय शय्या क्षमताको अस्पताललाई आगामी दिनमा विस्तारको लक्ष्य लिइएको छ ।