पोषण पुनःस्थापना केन्द्र भवन उद्घाटन

मधेस प्रादेशिक अस्पताल जनकपुरधाममा पोषण पुनःस्थापना केन्द्र भवनको उद्घाटन गरिएको छ । आज एक समारोहबीच प्रादेशिक अस्पताल जनकपुरधामको प्राङ्गणमा निर्मित दुईकोठे पोषण पुनःस्थापना केन्द्र  भवनको मुख्यमन्त्री शतिशकुमार सिंह तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

त्यसअवसरमा मुख्यमन्त्री सिंहले भवन निर्माणले मधेसको स्वास्थ्य अवस्थामा थप सुधार ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कुपोषित बालबालिकाको उपचारका लागि सहजता प्रदान गर्ने उद्देश्यले भवन निर्माण गरेकामा सहयागी संस्थालाई धन्यवाद दिनुभयो । 

वर्ल्ड  भिजन इन्टरनेसनलका प्रतिनिधि अनुप राणाले कुपोषित बालबालिकाको उपचारमा बाधा नहोस् भन्ने अभिप्रायका साथ भवन निर्माण गरिएको बताउँदै प्रत्येक बालबालिकाको पोषणसम्बन्धी अधिकार सुनिश्चित गराउनु नै संस्थाको उद्देश्य रहेको उल्लेख गर्नुभएको छ ।

कार्यक्रममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा अङ्कुर साह, रजिस्ट्रार डा विनोद यादवलगायत उपस्थित हुनुहुन्थ्यो ।

वर्ल्ड भिजन इन्टरनेसनलको साझेदारीमा एकीकृत ग्रामीण समाज विकास बर्दिवासद्वारा एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाअन्तर्गत रु १९ लाख ५९ हजार नौ सय ५९ को लागतमा भवन निर्माण गरिएको हो ।