पहिराले क्षतिग्रस्त अस्पतालको सेवा सञ्चालनका लागि स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

 तनहुँको भानु नगरपालिका–५ शेपाबैँचास्थित पुरनडिही अस्पताल भवनमा पहिराले क्षति पुगेपछि सेवा सञ्चालनका लागि आवश्यक सहयोग गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गराइएको छ । 

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको नेतृत्वमा गएको टोलीले आज मन्त्री पौडेललाई भेटेर पहिराले अस्पताल भवनका साथै विभिन्न उपकरणमा क्षति पुगेकाले सेवा सञ्चालनका लागि आवश्यक उपकरणको व्यवस्थापनका लागि ध्यानाकर्षण गराएको हो । 

गत असार २८ गतेको पहिराले अस्पताल भवनमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको छ । पहिराले अस्पताल भवनको प्रयोगशाला र प्रसूति कक्षमा क्षति पुगेका कारण अति आवश्यक आधारभूत सेवामात्र प्रवाह भइरहेको नगरप्रमुख त्रिपाठीले बताउनुभयो । 

यहाँ एक पालिका एक आधारभूत अस्पताल निर्माण तथा सञ्चालनअन्तर्गत आधारभूत अस्पताल भवन अन्तिम चरणमा रहेको छ भने हाल पुरानो भवनबाट सेवा प्रवाह भइरहेको छ । 

नगरप्रमुख त्रिपाठीकानुसार अस्पतालमा थप शय्या, २० रक्तचाप परीक्षण उपकरण, पाँच ओटोस्कोप, पाँच प्रसूति सेट, चार नेबुलाइजरलगायत सामग्री आवश्यक भएकाले मन्त्री पौडेललाई ध्यानाकर्षण गराइएको छ ।