एमाले कर्णाली अध्यक्षविरुद्ध यौन शोषणकाे उजुरी, तीन वर्ष निलम्बनमा पर्नसक्ने

एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाहविरूद्ध यौन शोषणको आरोप लागेपछि छानबिन भइरहेको छ। आफूलाई पटकपटक यौन उत्पीडन गरेको भन्दै पार्टीमै क्रियाशील एक महिलाले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै सम्बोधन गरेर लिखित उजुरी दिएकी हुन्। पीडितले लिखित उजुरी दिएपछि अध्यक्ष शाह तीन वर्षका लागि निलम्बनमा पर्नसक्ने देखिएको छ।   

एमाले अनुशासन आयोग छाननबिन अन्तिम चरणमा पुर्याएको छ। आयोगले नेत्र पन्थी संयोजक रहेको तीन सदस्यीय कार्यदल बनाएको थियो, कार्यदलले अध्यक्ष शाहसँग बयान लिइसकेको छ। कार्यदलले प्रतिवेदन नबुझाए  पनि शाहलाई तीन वर्षका लागि निलम्बन गर्ने तयारी  छ। एमाले प्रदेश अधिवेशनमा एमाले अध्यक्ष ओलीले शाहलाई रोक्न खोजेका थिए। उनले मीनबहादुर शाहीलाई अगाडि बढाउन खोजेका थिए। तर, महासचिव शंकर पोखरेल र कर्णालीका वर्तमान मुख्यमन्त्री यामलाल कँडेलको जोडबलमा शाह अध्यक्ष बनेका थिए।
शाह विवादित रहेको जानकारी ओलीले यसअघि नै थाहा थियो ।

शाहलाई आवश्यक कारबाही गरी न्याय दिलाउन माग गर्दै लिखित उजुरी परेपछि छानबिन भइरहेको हो । ती महिलाले आफू आठ वर्षदेखि शाहको यौन शोषणमा पर्दै आएको पत्रमा उल्लेख गरेकी छिन्। उनले पत्रमा लेखेकी छन्, ‘एमालेका तत्कालीन सल्यान जिल्ला इन्चार्ज हाल कर्णाली प्रदेशको पार्टी अध्यक्ष गुलाबजंग शाहले विगत ८ वर्ष पहिलादेखि नै मलाई विभिन्न ढंगबाट मेरो सोझोपन, अपरिपक्क उमेर, मेरो घर गएर बाबा दाइहरूसँग पनि तपाईंको छोरीलाई नेता बनाउँछु भन्ने, अनेक सपना देखाउने हुदाँ मलाई साँच्चिकै अभिभावक होला भन्ने लागेर मैले विश्वास गरेँ,’ उनले उजुरीमा लेखेकी छन्, ‘जसका कारण मलाई अनेक प्रलोभनमा, दबाब पारेर ४ वर्षसम्म बिएड अध्ययनको सिलसिलामा सुर्खेतमा उनकै सल्लाहले गएँ। उनले आफ्नो योजनामा त्यहाँ विभिन्न डर–त्रास, धम्कीका साथ राखे। सुर्खेत रहँदा पटक–पटक यौन शोषण हिंसा, शारीरिक तथा मानसिक रूपमा तनाब दिएका छन्।’

केही समयअघि अध्यक्ष शाह र आफू रहेको एक भिडियो पनि बाहिरिएको र त्यसपछि निकै मानसिक तनाब झेल्नुपरेको उनले बताएकी छन्।‘त्यतिबेला मेरोे बिहे पनि भइसकेको अवस्था थियो। त्यो भिडियोबारे सत्यतथ्य छानबिन गर्नुपर्छ भन्दा उल्टै मलाई दबाब दिएर गुलाबजंग शाहका विश्वास पात्र गोविन्द पुन, महेश देवकोटा लगायतले मलाई जबरजस्ती पत्रकार सम्मेलन गर्न लगाएका थिए,’ उनले भनेकी छिन्। 

यो पनि पढ्नुहोस

उनीहरूले तयार गरेको पत्र आफूले पत्रकारका सामु भनेको पीडित महिलाको भनाइ छ। उक्त भिडियोका सन्दर्भमा त्यतिबेला प्रहरीको साइबर ब्यूरोमा छानबिनका लागि मुद्दा दर्ता गर्ने सहमति भएको पनि उनले बताएकी छन्।‘त्यतिबेला गुलाबजंग शाहले मलगायत हाम्रो परिवारलाई फोन, फेसबुक सबैतिर ब्लक गरे। मलाई जिल्ला कमिटी सदस्यबाट हटाएका थिए,’ उनले भनेकी छन्।अध्यक्ष शाहले अरूलाई पनि गलत नजरले हेर्ने गरेकाले यथाशीघ्र न्यायका निम्ति अपिल गरेकी छन्।

‘उनले मलाई जस्तै सल्यानमा पार्टीभित्रका अरू दिदी–बहिनीहरूलाई गलत नजरबाट हेर्ने, मैले भनेको मानेपछि संसद–पालिकामा टिकट दिलाउँछु भनेर प्रलोभन दिने पनि गरिरहेका छन्,’ उनले भनेकी छिन्, ‘न्यायको लागि विगत तीन वर्षदेखि सल्यानका पार्टीका नेताहरू लगायत स्थायी कमिटी सदस्य यामलाल कँडेललाई समेत फोन गरेँ। तर कसैले पनि सहयोग गर्ने अवस्था रहेन। सहयोग गर्न चाहेकाहरू पनि गुलाबजंग शाहको डर–धम्कीले गर्दा कोही खुलेर बोल्नसम्म सकेनन्।  जसका कारण मैले आफै अब अन्त्यमा एकपटक अध्यक्ष, हामी सबैका रक्षक केपी ओलीले मात्रै मलाई न्याय दिलाउनु हुन्छ भन्ने विश्वासका साथ यो निवेदन पेस गरेको छु।’ 

यो पनि पढ्नुहोस

०७९ असारमा शाह र कर्णालीकै एक एमाले जिल्ला कमिटी सदस्य महिलाको भिडिओ सार्वजनिक भएको थियो। ती महिलाकै आईडीबाट अपलोड भएको ३५ सेकेन्डको भिडिओमा शाह र ती महिला एउटै बेडमा सुतेका देखिन्छन्। तत्कालीन अवस्थामा उक्त प्रकरणबारे छानबिन नगरेकोमा एमाले नेतृत्वको आलोचना भएको थियो।

पटक–पटक शाहसँग जोडिएर आउने भिडियोले पार्टी र आफ्नो बेइज्जत भइरहेको उनले बताएकी छिन्।