ट्राफिकबाट मजदुरलाई दुःख दिने, अनावश्यक हैरानी दिने र आक्रमण गर्ने भएमा कारबाहि हुन्छ : आईजीपी कुँवर

 यातायात मजदुर व्यवसायीका प्रतिनिधि र प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरबीच छलफल भएको छ ।

उनीहरुबीच शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा छलफल भएको हो । छलफलमा मजदुर व्यवसायीहरुले प्रहरी प्रशासनबाट अनावश्यक हैरानी व्यहोर्नु परेको गुनासो गरेका थिए ।

आइजिपी कुँवर समक्ष समस्याहरू प्रस्तुत गर्दै धनगढीदेखि काठमाडौँ आउने सार्वजनिक बसले सडकमा ३६ स्थानमा सुरक्षा चेकजाँच पूरा गर्नुपर्ने जसका कारण चालकमा थकान सँगसँगै मानसिक तनाव र शारीरिक शिथिलता आउने बताउँदै प्रस्थान बिन्दुमाचेकजाँच गरेर हिँडेपछि गन्तव्यमा चेकजाँच गर्नुपर्ने विधि राख्न समेत मजदुर व्यवसायी प्रतिनिधिहरूले सुझाएका छन् ।


‘प्रहरी मेरो साथी’ या ‘जिब्रोको गरिमा मिठो बोलीमा’ जस्ता लोकप्रिय नारा भएपनि ट्राफिक प्रहरीको बोली र व्यवहारमा रुखोपन रहेको र यातायात मजदुरलाई भौतिक आक्रमण गर्ने गरेको स्मरण गराउँदै यो कामले प्रहरी संगठनको छविलाई धुमिल बनाएकाले सुधारका काममा प्रहरी संगठनले ध्यान दिनुपर्ने विषयहरू पनि उनीहरूले सुझाएका छन् ।

भेटमा आईजीपी कुँवरले सडकमा मजदुरलाई दुःख दिने, अनावश्यक हैरानी दिने र मजदुरहरूलाई आक्रमण गर्ने कार्य गलत भएको बताउँदै त्यस्ता घटनामा संलग्नहरूलाई प्रमाणका आधारमा कारबाही गरिने बताए ।प्रतिनिधि मण्डलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघका प्रतिनिधिहरू रहेका थिए ।

यस्तै प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी किरण बज्राचार्य, प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी भीम ढकाल, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकार र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।