महिला एसिया कप २०२४ : पाकिस्तानलाई तीन विकेटले हराउँदै श्रीलंका फाइनलमा

श्रलंका नवौँ संस्करणको महिला एसिया कप टी–२० प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति सम्पन्न सेमिफाइनल खेलमा पाकिस्तानलाई तीन विकेटले हराउँदै श्रीलंका फाइनल प्रवेश गरेको हो । 

सेमिफाइनलमा पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि कप्तान चमारी अथपथुले अर्धशतकीय पारी खेलिन् ।उनले ४८ बलमा ९ चौका र एक छक्कासहित ६३ रन बनाइन् । यस्तै, अनुष्का सञ्जीवनीले अविजित २४, कविशा दिल्हारीले १७, हर्षिता समरविक्रमले १२ र सुगण्डिका कुमारीले १० रन बनाए । 

पाकिस्तानका लागि सादिया इकबालले ४ ओभरमा १६ रन दिएर सर्वाधिक ४ विकेट लिइन् । यस्तै, ओमाइमा सोहेल र निदा डारको नाममा एक/एक विकेट रह्यो । त्यसअघि श्रीलंकाको डम्बुलामा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४० रन बनायो । 

उसका लागि मुनीबा अलीले ३७, गुल फिरोजाले २५, कप्तान निदा डार र फातिमा सानाले २३/२३ तथा आलिया रियाजले अविजित १६ रन बनाए । श्रीलंकाका लागि उदेशिका प्रबोधनी र कविशा दिल्हारीले दुई/दुई विकेट लिए ।श्रीलंकाले अब उपाधिका लागि भारतको सामना गर्नेछ । भारतले आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई १० विकेटले हराउँदै फाइनलको यात्रा गरेको थियो । भारत र श्रीलंकाबीचको फाइनल खेल आइतबार हुनेछ ।   

 

जारी संस्करणमा नेपालको पनि सहभागिता थियो ।  समूह चरणबाट बाहिरिएको नेपालले तीनमध्ये दुईमा हार तथा एक खेलमा जित निकालेको थियो । नेपालले यूएईलाई हराउँदा भारत र पाकिस्तानसँग हार बेहोरेको हो ।