काभा वुमन्स नेसन्स लिग भलिबलको खेल तालिका र ट्रफी सार्वजनिक

साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजना हुने काभा वुमन्स नेसन्स लिग भलिबलको खेल तालिका र ट्रफी सार्वजनिक भएको छ।

नेपाल भलिबल संघ (एनभीए)ले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो।यस प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानकाे सहभागिता रहनेछ।

नेपालले उद्घाटन खेलमा साउन १७ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। साेहि दिन भारत र इरानबीच दोस्रो खेल हुनेछ। नेपालले दोस्रो खेल साउन १८ गते भारतसँग, तेस्रो खेल साउन १९ गते इरानसँग र चौथो खेल साउन २० गते माल्दिभ्ससँग खेल्नेछ।

लिगचरणको खेलपछि शीर्च चारमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन्। लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो भएको टोलीबीच सेमिफाइनल खेल हुनेछ। प्रतियोगितामा लिगचरणका १० सेमिफाइनल २ तथा फाइनल र तेस्रो स्थान खेल गरी कूल १४ खेल हुनेछ।

अरुणा शाहीको कप्तानीमा रहेको नेपालले काभा नेसन्स लिगकै तयारी स्वरुप रुसियन महिला टिमसँग राखेप कभर्डहलमै दुई मैत्रीपूर्ण खेल समेत खेलेको थियो।