महिला एसिया कप २०२४ : बंगलादेशलाई १० विकेटले हराउदै भारत फाइनलमा

७ पटकको च्याम्पियन भारतले बंगलादेशलाई १० विकेटले पराजित महिला एसिया कप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर ८० रन मात्र बनाएको थियो । ८१ रनको जवाफमा भारतीय ओपनरहरूले लक्ष्य ११ ओभरमा पूरा गर्दै नवौं पटक महिला एसिया कपको फाइनलमा पुगे।

उत्कृष्ट बलिङका लागि रेणुका सिंह ठाकुर प्लेयर अफ द म्याच घोषित भइन् । बंगलादेशकि कप्तान निगार सुल्तानाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् ।

बंगलादेशलाई सुरुदेखि नै भारतीय बलरले ठूलो धक्का दिएका थिए । फास्ट बलर रेनुका सिंह ठाकुरले बंगलादेशको टप अर्डरलाई लगातार प्याभिलियन पठाए र टोलीको स्कोर २१/३ मा पुर्याइन् ।

यसपछि भारतीय स्पिनरहरूले आफ्नो क्षमता देखाउँदै बंगलादेशी ब्याट्सम्यानलाई हावी हुन दिएनन् । आफ्नो टोलीका लागि कप्तान निगार सुल्तानाले सर्वाधिक ३२ रन बनाएकी थिइन् भने शोर्ना अख्तरले १९ रनको अविजित इनिङ्स खेल्दै टोलीलाई ८० रनमा पुर्याएकी थिइन् ।

भारतका लागि रेणुका सिंह ठाकुर र राधा यादवले ३–३ विकेट लिए भने पूजा वस्त्रकार र दीप्ती शर्माले १–१ विकेट लिए । भारतलाई फाइनलमा पुग्न ८१ रनको लक्ष्य थियो ।

ओपनिङमा आएका स्मृति मन्धाना र शेफाली वर्माले ११ ओभरमा लक्ष्य पूरा गर्दै बंगलादेशसँगको ६ वर्ष पुरानो हिसाब बराबर गरिन । एसिया कप २०१८ को फाइनलमा बंगलादेशले भारतीय टोलीलाई हराएको थियो ।

यस्तो अवस्थामा आज एशिया कपको नकआउट खेलमा बंगलादेशलाई हराउँदै भारतीय टोलीले हिसाब बराबरी गरेको हो ।

भारतका लागि स्मृति मन्धानाले ३९ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५५ रनको उत्कृष्ट अर्धशतकीय पारी खेलेकी थिइन् भने शेफाली वर्माले मात्र २ चौका सहित २६ रन बनाएकी थिइन् ।