युएईमा नेपालीकै हत्यामा मृत्युदण्डको सजाय सुनाएको दुई नेपाली फर्किए नेपाल

संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका ओखलढुंगाको चिसङ्खुगढीका भुवन श्रेष्ठ नेपाल फर्किएका छन्। उनी हत्या गरिएका भनिएका पीडित परिवारलाई ब्लडमनी बुझाएर नेपाल फर्किएका हुन्।

भुवन बिहीबार बिहान ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका उनका बुबा यमनारायण श्रेष्ठले बताए।

‘दुबईबाट राति ८ बजे फ्लाइट थियो। बिहान ३ बजे छोरो नेपाल झरो’, चिसङ्खुगढीमै रहेका यमनारायणले भने, ‘फोनमा कुरा भइसक्यो, गाउँचैँ आइसकेको छैन। एक दुई दिनमा मै काठमाडौं आउँछु।’

भुवन र धादिङको नेत्रावती ४ का पहलमान थापा मगरलाई नेपालीकै हत्या अभियोगमा युएईको अदालतले दोषि ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो।

उनीहरूले नवलपरासीको मध्यविन्दु ११ का बाबुराम आले मगरको हत्या गरेको आरोप छ। युएईको कानुन अनुसार पीडित परिवारले अदालतले दिने सजायमा रोज्न पाउँछन्। कसुरदारलाई मृत्युदण्ड नै दिने कि, त्यसबापत रकम तिराउने (ब्लडमनी)भनेर अदालतले पीडित परिवारलाई सोध्छ। भुवन र पहलमानका परिवारको आग्रहपछि मृतक बाबुरामका परिवारले ब्लडमनी स्वीकार गरे।

त्यसपछि दुई परिवारले तीन लाख युएई दिराम बराबरको (एक करोड ८ लाख रुपैयाँ) बुझाएपछि जेलमुक्त गरिएको हो। भुवन नेपाल फर्किसके पनि पहलमान भने अहिले पनि थुनामुक्त भइसकेका छैनन्।

उनको पासपोर्टको म्याद सकिएकाले दूतावासले आवश्यक कागजात प्रक्रिया पूरा गरेर केही दिनमै नेपाल फर्काइदिने तयारी गरेको पहलमानका मामा तेज आले मगरले बताए।

‘हाम्रो भान्जाको पासपोर्टमा के मिलेनछ, त्यही भएर ओखलढुंगाको भाइसँगै आउन पाएनन्। दूतावासमा कुरा गरिसकेका छौं, भोलि र पर्सीमा पठाइसक्छौं भन्नु भएको छ’, तेज आलेले भने।

दुवै परिवारले सहयोग जुटाएर पीडित परिवारलाई गत चैतमा एक करोड ८ लाख रुपैयाँ बुझाएका थिए।

‘सुरुमा पीडितको खातामा एक करोड रुपैयाँ जम्मा गरिदिएर भौचर पठाएका थियौं। तर युएईबाट तीन लाख दिराम बराबरको रकम नपुगेको भनेपछि फेरि ८ लाख रुपैयाँ जम्मा गर्‍यौं। चैतमै रकम बुझाएको भए पनि यतिका समय लाग्यो, भौचर अदालत पुग्न ढिला भएछ’, यमनारायणले भने।

छोरो छुटाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन आफू काठमाडौं आउने उनले बताए। ‘मेरो काम चलो भनेर मात्रै भएन। उद्धार गर्न सहयोग गरेका सबैलाई हिसाबकिताब सुनाइदिनु परो। उठेको पैसा कहाँकहाँ खर्च भयो सबै भन्नु परो नि’, उनले भने।

‘सबैले छोरो बचाइदिनु भयो। छोरोको मुख हेर्न पाउने भएँ, यही छ खुसी। रोइकराइ गरेर, स्वदेश विदेशमा भएका सबै, आफन्त इष्टमित्र लागेर बचाइदिनु भएको छ, सबैलाई मेरो आशिर्वाद छ’, यमनारायण भन्छन्, ‘अहिले त भुवनकी आमा पनि खुसी भइरछे।’आमा धनकुमारी श्रेष्ठले पनि लामो समयपछि छोरासँग बोल्न पाएको भन्दै छिट्टै भेट हुने आशा राखिन्।

‘छोरो फर्कियो। हामीलाई त अब देख्न पाइन्छ कि पाइदैन भन्ने पिर थियो। कहिले भेटौं भइराछ। बोलि नै मात्रै पनि सुन्न पाए कस्तो हुन्छ भनेर अघि फोनमा बोलेँ। सन्चै छु, आइपुगेँ भन्यो, अब यहाँबाट उसका बाउ गएपछि आउँछ होला’, धनकुमारीले सुनाइन्।

यतिका वर्ष छोराको अवस्थाले आफूलाई निक्कै चिन्तित बनाएको उनको भनाई थियो। अब विदेश नपठाउने पनि उनको बाचा छ।

‘स्कुलबाट एकछिन ढिला गर्दा त कम्ता टेन्सन हुँदैन। यतिका वर्ष नदेख्दा त कस्तो भाको होला मलाई भन्नु त। बल्ला बल्ला दुनियाँले सहयोग गरिदिनु भो र छोराको मुख देखाइदिनु भो। अब त बाहिर के पठाउँथे, पठाउँदिन नि’उनले सुनाइन्, ‘के गर्नु छोराछोरीको जस्तो माया अरुको नहुनेरछ।’

यमनारायणका माइला छोरा भुवन २०७४ वैशाख २६ गते रोजगारीका लागि संयुक्त अरब एमिरेट्स (यूएई) गएका थिए।त्यहाँ काम गरेको दुई वर्ष पुगेपछि ०७६ मा आउँदो दसैँमा फर्किन्छु भनेर फोन गरेको थिए। तर पछि उनी जेल परेको खबर परिवारसम्म आइपुग्यो।

यूएईमा रहेका नवलपुरको मध्यविन्दु नगरपालिका ११ का बाबुराम आले मगर, ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका ३ का भुवन श्रेष्ठ र धादिङको नेत्रावती डबजोङ गाउँपालिका ४ का पहलमान थापा मगरबीच झगडा परेछ।

२०७६ जेठ २० गतेको झगडामा भुवन र पहलमानले बाबुरामलाई चक्कु प्रहार गरेको आरोप छ। उपचारका लागि लैजाँदै गर्दा बाबुरामको मृत्यु भयो।

श्रीमानको मृत्यु हुँदा उनकी पत्नी नरिमा पनि यूएईमै थिइन्। पत्नी नरिमा आले मगरले प्रहरीमा जाहेरी दिइन्। उनको जाहेरीपछि प्रहरीले भुवन र पहलमानलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा उनीहरूले पनि हत्या गरेको स्वीकार गरे र अदालतले दोषी ठहर गर्दै सजाए सुनाएको थियो।

यूएईको तल्लो अदालतको फैसलाविरुद्ध उनीहरूले अपिल कोर्टमा निवेदन गरेका थिए।माथिल्लो अदालतमा मुद्दा विचाराधीन भइरहँदा नेपालमा मृतकका परिवार र दोषी ठहर व्यक्तिका परिवारबीच ब्लडमनीमा सहमति जुटेको थियो। हत्यामा संलग्न दुई परिवारका तर्फबाट मृतक बाबुरामका परिवारलाई ३ लाख यूएई दिराम अभियुक्त दुई परिवारका तर्फबाट बुझाउने सहमति भयो।

यूएईको कानुनमा हत्या गरेबापत पीडित परिवारले पैसा स्वीकार गरेमा त्यो पैसा तिरेर अभियोग फिर्ता लिन सकिने व्यवस्था छ। अदालतको फैसला अनुसार उनीहरूले मृत्युदण्डबाट बच्न मृतकका परिवारलाई ३ लाख दिराम तिर्नुपर्ने थियो।

दुई परिवारले डेढलाख दिरामका दरले रकम तिर्न तयार भए।उनीहरूको बीचमा २०७९ वैशाख १६ गते सहमति भएको थियो। सहमति अनुसार दुई परिवारले मृतककी पत्नी नरिमालाई २१ लाख बढी रकम तत्कालै बुझाए।

सहमति भएकै दिन पहलमानको तर्फबाट बुबा एकबहादुरले ५० हजार यूएई दिराम बराबरको नेपाली रुपैयाँ १६ लाख ६२ हजार ५ सय रुपैयाँ बुझाएका थिए।

भुवनको तर्फबाट दाइ खेमराज श्रेष्ठले ३ लाख रुपैयाँ त्यसै दिन बुझाए। ५० हजार दिराममध्ये बाँकी १३ लाख ६२ हजार ५ सय रुपैयाँ दुई महिनाभित्रमा बुझाउने सहमति भएको थियो। तर उनले रकम जुटाउन सकेनन्।

त्यसपछि भुवन बचाउ अभियान सुरु भयो। सोही अभियानबाट आवश्यक रकम जुटेपछि दुवै जना नेपाल फर्किने बाटो खुलेको हो।रकम बुझिसकेपछि मृतकका परिवारले कुनै पनि मागदाबी नगर्ने सहमति पत्रमा हस्ताक्षर गरिसकेका थिए।

‘हामी दुई पक्षबीच मुलुकी देवानी संहिता २०७४ को भाग ५ र अन्य प्रचलित नेपाल कानुन तथा यूएईको अदालतमा विचाराधीन रहेको मुद्दा फिर्ता लिन लागू हुने सर्तसहित हाम्रो मनोमान खुसीराजीले यो करारनामाको कागजमा सहीछाप गरी एकएक प्रति लियौँ, दियौँ,’ उनीहरूको सहमति पत्रमा भनिएको छ।

यूएईको कानुन अनुसार मृतकका परिवारलाई ब्लडमनी बुझाइसकेपछि मुद्दा फिर्ता हुन्छ।उनीहरूको सहमति अनुसार नेपालमै रकम लेनदेन भयो। कन्सुलर सेवा विभागको रोहबरमा गरिएको लेनदेन काठमाडौँस्थित यूएई दूतावासले प्रमाणीकरण गरेर अदालतमा पठाएपछि अदालतबाट मुद्दा फिर्ता भएको हो।

यससँगै भुवनका लागि युएईको जेलको ढोका खुल्यो र नेपाल फर्किए। पहलमान पनि छिट्टै फर्किने आशमा उनको परिवार पर्खिबसेका छन्।