हत्या आरोपिदेखि गुण्डागर्दीमा कुख्यात रहेकालाई कांग्रेसले बनायो मन्त्री

नेपाली कांग्रेस देशकै पुरानो दल हो। अहिले पनि कांग्रेस संसदको सबैभन्दा ठूलो दल रहेको छ। तर, कांग्रेसले छवि भने सुधार गर्न सकेको छैन। विवादित व्यक्तिलाई सांसददेखि मन्त्री बनाउने कांग्रेसको परम्परा नै बनेको छ।

कांग्रेस र एमालेबीच गठबन्धन बनेपछि अहिले प्रदेशमा धमाधम नयाँ सरकार बनिरहेका छन्। ती सरकारमा कांग्रेसले विवादित व्यक्तिलाई मन्त्री बनाइरहेको छ।

कांग्रेसले लुम्बिनी प्रदेशमा दुई जना विवादित पात्रलाई मन्त्री बनाएको छ।  हत्या आरोपी बादशाह कुर्मी र कुनै बेला गुन्डागर्दीमा कुख्यात रहेका रोज राणालाई मन्त्री बनाएको हो। बादशाह बाँकेकी निर्मला कुर्मी हत्या प्रकरणका मुख्य आरोपी हुन्। बाँके ३ ‘ख’ बाट प्रदेश सभा निर्वाचित सांसद कुर्मीमाथि प्रहरी अनुसन्धान जारी नै छ। तर, अनुसन्धान प्रभावित पार्नेगरी उनलाई मन्त्री बनाइएको छ।  गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित ६ सदस्यीय छानबिन समितिले निर्मला कुर्मी बेपत्ता प्रकरणमा कांग्रेस नेता बादशाहसहित आठ जनालाई दोषी औंल्याएको थियो। प्रारम्भिक छानबिनका क्रममा बादशाहसँगै रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारि सिंह, कुँवर बब्बन सिंह ठकुरी, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह दोषी देखिएको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ। उनीहरूमाथि अनुसन्धान गर्नुपर्ने सुझाव समितिले दिएको थियो।

सरोज थापा अर्थात् रोज राणा त दोहोर्याएर मन्त्री बनेका छन्। यसअघि डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारमा उद्योगमन्त्री रहेका उनलाई बुधबार फेरि मन्त्री बनाइएको हो। कुनै बेला चलचित्र निर्माता र निर्देशक रहेका उनी राजधानीमा गुन्डागर्दीमा थिए । काठमाडौंका डान्सबारमा युवतीलाई जबर्जस्ती नग्न नृत्य गराएको अभियोगमा समेत उनलाई प्रहरीले पक्राउ गरेको थियो। 

कांग्रेसले लुम्बिनी मात्र होइन बागमतीमा पनि विवादित व्यक्तिलाई मन्त्री बनाएको छ। 

कुनै बेला ललितपुर जिल्लाभित्रका ठेक्कापट्टा, ढुंगा, रोडा, बालुवा खानी सञ्चालकसँग असुली गर्ने र गुण्डागर्दी गर्ने मीनकृष्ण महर्जन मन्त्री बनेका हनु्। कांग्रेसले उनलाई युवा तथा खेलकूदमन्त्री बनाएको हो।  ललितपुरका महर्जनले लामो समय जिल्लामा एकलौटी असुली धन्दा चलाएका थिए। यही विषयमा महर्जन समूह र रमेश बाहुन भन्ने सुजन पौडेलको समूहबीच विवाद पनि भएको थियो। बाहुन समूहले महर्जनलाई २०७० सालमा गोली हानेको थियो।