जहाज दुर्घटनामा बाचेका पाइलट मनिष भन्छन-करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ,तल खस्न थाल्यो त्यसपछि जहाज मेरो नियन्त्रणमा भएन

बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाले ज्यान गुमाउँदा एक मात्र जिवितै उद्धार गरिएका पाइलट मनिष शाक्यले जहाज दुर्घटनाबारे मुख खोलेका छन् ।

अहिले सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उपचाररत रहेका पाइलट शाक्य सामान्य कुराकानी गर्न सक्ने अवस्थामा रहेका छन् ।बिहीबार पाइलट शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको बताएका हुन् । ‘करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ । तल खस्न थाल्यो,’ उनले भने, ‘त्यसपछि जहाज मेरो नियन्त्रणमा भएन ।’

काठमाडौंबाट बुधबार बिहान ११ः११ मा पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै परिसरभित्रै दुर्घटना भएको थियो । घटनामा परेर १८ जनाको मृत्यु भएको थियो भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरेर केएमसी अस्पतालमा ११ः३० मा पुर्याइएको थियो । उनलाई रगताम्य अवस्थामा सेनाको बम डिस्पोजल टोलीले ५ मिनेट भित्र उद्धार गर्न सफल भएको थियो । चिकित्सकका अनुसार उनको शरीरको विभिन्न भागमा चोटपटक लागेको थियो । जसको उपचार हुँदैछ ।