ह्वाट्सएपमार्फत फाइलहरू पठाउन इन्टरनेट आवश्यक नपर्ने

मेसेजिङ एप ह्वाट्सएपमार्फत फाइलहरू पठाउन अब इन्टरनेट आवश्यक नपर्ने भएको छ । 

मेटा अन्तर्गत रहेको ह्वाट्सएपले एप्पलको एयरड्रप र गुगलको नियरबाइ शेयर जसरी काम गर्ने नयाँ फिचर ल्याउन लागेको छ ।यो फिचर उपलब्ध भएपछि प्रयोगकर्ताले इन्टरनेट बिना नै डक्युमेन्ट, फोटो, भिडिओ जस्ता फाइल अन्य प्रयोगकर्तालाई पठाउन सक्नेछन् । ​ह्वाट्सएपबारे सूचना लेख्ने डब्लुएबेटाइन्फोका अनुसार यो फिचर एन्ड्रोइडमा परीक्षण भइसकेको छ भने आईओएसमा पनि उपलब्ध हुनेछ ।

फिचर उपलब्ध भएपछि इन्टरनेट नभएका अथवा कमजोर भएका ठाउँमा ह्वाट्सएपमार्फत अन्य व्यक्तिहरूलाई फाइल पठाउन सजिलो हुने बताइएको छ ।

मेटाले यो फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध गराउँछ या सशुल्क दिन्छ भन्ने विषयमा भने जानकारी आएको छैन ।