प्रेस काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको आह्वान 'अबको पत्रकारिता समाधानमुखी र रचनात्मक हुनुपर्छ'

काठमाडौं  : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अबको पत्रकारिता समाधानमुखी र रचनात्मक हुनुपर्नेतर्फ सबैको ध्यानाकर्षण गराउनुभएको छ । 

प्रश्न उठाउने मात्र नभै समाधनका विकल्पहरुसहितको पत्रकारिता गर्नुपर्ने दायित्व मिडिया जगतमा आइपरेको उहाँको भनाई छ । अध्यक्ष बस्नेतका अनुसार त्यसरी गरिने पत्रकारिता सृजनात्मक, रचनात्मक र समाधानमुखी हुनेछ ।

'प्रश्न उठाउने र समस्या राख्नेमा मात्र अबको पत्रकारिता केन्द्रित छैन । समाधानका सम्भावित उपाय, विकल्पहरु सहित प्रश्न उठाउने दायित्व मिडिया जगतमा छ । समाधन के हुन सक्छ ? अहिले किन भइरहेको छैन ? असल सुरुवात के भइरहेका छन् ? त्यसमा बाधा के, कसरी भइरहेको छ ? जस्ता जिज्ञासासहितलाई मिडिया जगतले प्रस्तुत गर्दा सृजनात्मक, रचनात्मक र समाधानमुखी पत्रकारिता गरेको ठहर्छ,' अध्यक्ष बस्नेत सामाजिकक सञ्जालमार्फत सबैलाई सुझाव दिनुभएको छ । 

मिडिया जगतको नियामक निकाय प्रेस काउन्सिलका प्रमुख बस्नेतले पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चार माध्यम छुट्याएर हेर्नुपर्ने र त्यसका लागि डिजिटल साक्षरतामा जोड दिँदै आउनुभएको छ । 

समाचार र सामाजिक सञ्जालका कन्टेन्टलाई चामल र भुस सरह छुट्याएर हेर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, 'युट्युव र अन्य सामाजिक सञ्जालमा राम्रासहित अनेकन खालका नकरात्मक सामाग्री पोखिएका छन् । त्यसलाई चामल र भुस जत्तिकै छानेर सञ्चारमाध्यमका रुपमा आएका युट्यव र अन्य युट्युव भनी छुट्याउन र चिन्नुपर्छ,' अध्यक्ष बस्नेतको धारणा छ । 

पछिल्लो समय प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत सार्वजनिक कन्टेन्टलाई कडाई गर्दै आएको छ । अनलाइन पोर्टल र सामाजिक सञ्जाल मार्फत चलेका सञ्चार माध्यमको अनुगमन गरी विभिन्न कारवाही समेत गर्दै आएको छ । 

 काउन्सिलले सिधाकुरा डटकम, अर्थसञ्जाल डटकम, अनलाइनपाना डटकम, दैनिकी डटकम, नेपालआज डटकम, उकेरा डटकमलगायतलाई विभिन्न कारवाही गरेको छ । 

विभिन्न युट्युव च्यानलका कन्टेन्ट काउन्सिलको निर्देशनमा हटेका छन् । कान्तिपुर टेलिभिजनको एक चर्चित कार्यक्रमको विवादास्पद कन्टेन्ट लाई काउन्सिलले हटाउन लगाएको थियो । आचारसंहिता उल्लंघन गर्ने पत्रकारलाई काउन्सिलले कार्यालयमै बोलाई कक्षा लिन थालेको छ ।  

सामाजिक सञ्जाल मार्फत अध्यक्ष बस्नेतले सबै युट्युवरलाई पत्रकार भन्न नमिल्ने सार्वजनिक गर्नुभएको छ । 'सबै युट्युबर पत्रकार होइनन्, सबै पत्रकार राम्रा युट्युवर हुन सक्छन्,' बस्नेतको भनाई छ । 

सबै माध्यममा रचनात्मक र समाधानमुखी सामाग्री  पस्किन सके अहिलेका कतिपय गलत प्रवृत्ति आफै अन्त हुने बस्नेतको बुझाई छ ।