शंकरदास बैरागीलाई भारतका लागि नेपाली राजदूत बनाएर पठाउने तयारी

राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीलाई भारतका लागि नेपाली राजदूत बनाएर पठाउने तयारी भएको छ। सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसको शीर्ष नेतृत्वबीच बैरागीलाई भारत पठाउने समझदारी बनिसकेको कांग्रेसनिकट स्रोतले जानकारी दिएको छ।

कांग्रेस र एमालेबीच भागबन्डा हुँदा भारत कांग्रेसको भागमा परेको छ। परराष्ट्र सचिव, मुख्यसचिव हुँदै राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका बैरागीलाई कांग्रेसकै कोटामा भारत पठाउन लागिएको हो। तयारीअनुसारै काम भएमा आजैको मन्त्रिपरिषद बैठकले यो निर्णय गर्न सक्ने स्रोतको भनाइ छ।

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा बसिरहेको छ। अहिले भारतमा डा. शंंकर शर्मा राजदूत छन्।  यसअघिकै सरकारले उनलाई फिर्ता बोलाउने निर्णय गरिसकेको भए पनि उनी अहिले पनि काम गरिरहेकै छन्। यसअघिको सरकारले भारतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीको नाम सिफारिस गरेको थियो।