पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमै चर्काचर्की , सुदनले गरे बैठक बहिस्कार

बिहीबार बसेको पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमै चर्काचर्की भएको छ । पूर्वमन्त्री सुदन किराती र समितिका सभापति राजकिशोर यादबिच भनाभन भएको हो । विषयवस्तु (मुद्दा) मा केन्द्रित हुँदै छलफलमा भाग लिँदै गर्दा सभापति यादवले रोकेपछि किराती आक्रोशित बनेका हुन् ।    

पूर्वमन्त्री किराँती नेपालको हवाई सुरक्षा र कोरिया जाने नेपाली कामदारको विषयमा फ्लाइटको एकाधिकारको मुद्दामा केन्द्रित भएर बोल्दै थिए । त्यति नै बेला सभापतिले टेक्निकलमा केन्द्रित हुन आग्रह गर्दै भनाइ छोट्याउन भनेपछि बैठकमै भनाभन भएको थियो ।

यसलगत्तै आक्रोशित भएका पूर्वमन्त्री किरातीले आफू विषयवस्तुमा नै केन्द्रित भएर भनाइ राख्दै गरेको बताए । ’सभापतिज्यू म त कुनै टेक्निसियन होइन नि, कुनै जहाज चलाउने पाइलट पनि होइन नि । फेरि म कसरी टेक्निकल विषयमा बोल्न सक्छु ?,’ उनले प्रश्न गर्दै भने, ’म त राजनीतिक प्राणी हो नीतिगत पक्षमा बोल्ने हो ।’ थप बोल्न नदिएपछि आक्रोशित भएका किराती समितिको बैठक नै बहिष्कार गरेर हिँडे ।