पर्यटनमन्त्री पाण्डे नियुक्ति भएपछि क्यासिनो अनुमतिको नाममा करोडौंको आर्थिक चलखेल

काठमाडौँ, १० साउनः संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा बद्री पाण्डे नियुक्ति भएपछि उनी मातहतको पर्यटन विभागमा क्यासिनो अनुमतिको नाममा करोडौंको आर्थिक चलखेल भएको छ ।

सोझा मन्त्री पाण्डेले शुरुमै आफूले इमान बेचेर कुनै गैरकानूनी काम नगर्ने बताइसकेका छन् । तर, विभागका महानिर्देशक रुद्र पण्डित भने नयाँ मन्त्री आउनु अघि बुझेको ‘प्रिपेड’ रकम पचाउन एउटै होटलमा दुईवटा क्यासिनो सञ्चालनको अनुमति दिलाएर बाहिरिने तयारीमा छन् ।

सिल्भर हेरिटेज लिमिटेड व्रिटिस भर्जिन आइल्याण्ड अन्तर्गतको टाइगर वान प्रालिले रुपन्देहीमा सञ्चालन गर्दै आएको टाइगर प्यालेस रिसोर्टमा एचएसएल मेनेजमेन्ट सर्भिसेज प्रालिले क्यासिनो सञ्चालन गर्दै आएको थियो । एचएसएल मेनेजमेन्ट सर्भिसेज प्रालिमा सिल्भल हेरिटेज प्रालिको ९० प्रतिशत र टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालिको १० प्रतिशत शेयर रहेको छ ।

१० प्रतिशत शेयर रहेको टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालिले आफूलाई कम्पनीको कुनै पनि हरहिसाव नदिएको, प्रतिनिधिलाई भित्र प्रवेश गर्न नदिएको भन्दै अदालतदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा पर्यटन मन्त्रालय र विभागमा उजुरी दिएको थियो ।

उजुरीको किनारा लागिसकेको छैन । अख्तियारले पत्र नै पठाएर कागजात मागिसकेको छ भने उच्च अदालत पाटनमा मुद्दा विचाराधिन छ । यति हुँदा हुँदै पनि विभागका महानिर्देशक पण्डितले ठूलो आर्थिक स्वार्थ राखेका कारण बाहिरिने बेलामा नयाँ कम्पनी टाइगर रिक्रिएसन प्रालिलाई क्यासिनो सञ्चालन गर्न अनुमति दिने तयारी थालेका छन् ।

  सोही होटलमा रवि शर्मा धिताल सञ्चालक रहेको रोयल टाइगर रिक्रिएसन प्रालिलाई क्यासिनो सञ्चालनका लागि महानिर्देशक पण्डितले गत असार २८ गते पूर्व स्वीकृती प्रदान गरेका छन् । पूर्व स्वीकृतीबाट क्यासिनो सञ्चालन गर्न पार्इंदैन । क्यासिनो सञ्चालनका लागि क्यासिनो सञ्चालन इजाजत पत्र प्राप्त गर्नुपर्छ ।

पण्डितले अख्तियार, अदालत र मन्त्रालयलाई समेत अटेर गरी धिताल र सुवेदीको समूहबाट तीन करोड भन्दा बढी कमिसन लिएका कारण इजाजतप्रत्र नै दिन लागि परेको मन्त्रालय स्रोतले बताएको छ । मन्त्रालयका एक उपसचिव भन्छन्–‘अहिले त क्यासिनो सञ्चालनको इजाजतपत्र दिएर पण्डितलाई पैसा पचाउन सजिलो होला । तर, अख्तियारले पत्र नै काटेर छानविन गर्नु भनिसकेको हुँदा कुनै पनि दिन पण्डित अख्तियारको फन्दामा पर्नसक्छन् ।’

अख्तियारले गत असार ३० गते पर्यटन मन्त्रालयलाई पत्र लेखि आयोगको असार २७ को निर्णय अनुसार छानविन गरी आवश्यक कारबाही गर्न भन्दै निर्देशन दिएको छ । तर, पण्डित भने पैसाकै पछाडि लागेर अख्तियारको दुरुपयोग गर्न तल्लिन छन् । पण्डितले आफ्नो सम्बन्ध अख्तियार प्रमुख प्रेम राईसँग राम्रो रहेको भन्दै मन्त्रीको आदेश नटेर्ने बताएको विभाग स्रोत बताउँछ ।

दुईवटा क्यासिनोलाई सञ्चालनको अनुमति दिलाउन अनुगमनका लागि भन्दै महानिर्देशक पण्डित केहि दिन अघि उक्त रिसोर्टमा पुगेका थिए । विवादास्पद गैरआवासीय नेपाली वुद्धिसागर सुवेदी र धितालसँग मिलेर महानिर्देशक पण्डितले कानून विपरित नयाँ कम्पनीलाई क्यासिनो सञ्चालनको अनुमति दिन लागेका हुन् ।

सुवेदी सिल्भर हेरिटेज लिमिटेड व्रिटिस भर्जिन आइल्याण्डको नेपाल प्रतिनिधि हुन् । टाइगर प्यालेस रिसोर्टमा सिल्भर हेरिटेज लिमिटेड व्रिटिस भर्जिन आइल्याण्डको शत प्रतिशत लगानी रहेको छ ।

कानूनतः एउटै होटलमा दुईवटा क्यासिनो सञ्चालन गर्न पाइदैन । तर, नेपाली कांग्रेसका नेता बद्री पाण्डे संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेसँगै उनलाई गुमराहमा राखेर एउटै होटलमा दुईवटा क्यासिनो सञ्चालनको अनुमति दिलाउन पण्डित जेसुकै गर्न पनि तयार छन् ।

 टाइगर प्यालेस रिसोर्टमा एचएसएल मेनेजमेन्ट सर्भिसेज प्रालिले क्यासिनो सञ्चालन गर्दै आएको थियो । रिसोर्टका सञ्चालक वुद्धिसागर सुवेदीकै कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालि र टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालिले क्यासिनो सञ्चालन गर्दै आइरहेकोमा सुवेदीले नयाँ सम्झौता गराएर क्यासिनो डन भनेर चिनिने रवि शर्मा धितालको कम्पनी रोयल टाइगर रिक्रियसन प्रालिलाई एकाएक क्यासिनो सञ्चालन गर्न अनुमति दिलाउन लागेपछि विवाद चुलिएको हो ।

यसअघि रवि शर्माले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरी ज्वाई जीवन आचार्यको शक्ति र पण्डितलाई आर्थिक प्रभावमा पारी पूर्व स्वीकृती लिएको स्रोत बताउँछ ।सुवेदी र धिताल मिलेर टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालिलाई पाखा लगाउन यस्तो हर्कत गरेपछि मुद्दा पर्यटन विभाग हुँदै अदालतसम्म पुगेको थियो ।

आफूलाई सफल गैरआवासीय नेपाली ठान्ने सुवेदीले क्यासिनोमा १० प्रतिशत शेयर रहेको टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालिलाई पाखा लगाउन गैरकानूनी रुपमा धितालसँग सम्झौता गरेका थिए ।सुवेदीले अवैध रुपमामा विदेशबाट हुण्डीमार्फत अरबौं रकम भित्र्याएर काम गर्न थालेपछि सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले पनि पत्र काटी छानविन गरिरहेको छ ।

प्रचण्डका ज्वाइ आचार्यले उक्त छानविन रोकाउन यसअघि विभागका डिजी पुष्प शाहीलाई दबाब दिएका थिए । अहिलेका डिजी कमल भट्टराईले भने पुराना फाइलहरु खोलेर अनुसन्धान थालिसकेको स्रोत बताउँछ । विभागले राम्रोसँग अनुसन्धान गरेमा रवि शर्मा धिताल र सुवेदी कारबाहीमा पर्ने निश्चित रहेको स्रोत बताउँछ ।

पण्डितमाथि केही समय अघि सिद्धार्थ ग्रिन रिसोर्ट, चनौटामा मिनी क्यासिनो सञ्चालनको अनुमति दिंदा ५० लाख असुलेको आरोप लागेको थियो ।धिताल र सुवेदीले रोयल टाइगर रिक्रियसन प्रालिको नाममा क्यासिनोको अनुमति लिनका लागि महानिर्देशक पण्डिलाई ठूलो रकम बुझाएका कारण शेयरधनीबीच विवाद हुँदाहुँदै पनि अर्को कम्पनीलाई क्यासिनो सञ्चालनको अनुमति दिलाउन लागिएको हो ।

टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालि शेयरधनी रहेकोमा धितालले एकलौटी कम्पनी जस्तो गरी क्यासिनो बन्द गरेको निवेदन दिएर नयाँ अनुमति लिन लागेका थिए । टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालिको शेयर हडप्ने उद्देश्यले धितालले अर्को क्यासिनो दर्ता गरेपछि विवाद अदालतसम्म पुगेको हो ।

क्यासिनो सञ्चालनका लागि रोयल टाइगर रिक्रियसन प्रालिका सञ्चालक धितालले तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँड, निवर्तमान प्रधानमन्त्री पुत्री गंगा दाहालका श्रीमान जीवन आचार्य र पर्यटन विभागका महानिर्देशक पण्डितलाई सेटिङ मिलाई जबरजस्ती क्यासिनो सञ्चालन गर्न खोजेका थिए ।