पाइलट शाक्य खतरामुक्त र बोल्न सक्ने अवस्थामा !

बुधवार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटना भयो । दुर्घटनामा १८ जना यात्रुको मृत्यु भयो भने विमानका पाइलट मनिषरत्न शाक्य भने बाँच्न सफल भए ।

उनको घटनास्थलबाट उद्धार गरि काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको र बोल्न सक्ने अवस्थामा छन् ।केएमसी अस्पतालका एक अधिकारीका अनुसार उनले कुरा गर्न थालेका छन् । यद्यपि उनीसँग कसैलाई पनि भेट्न दिइएको छैन । पाइलट शाक्यको अस्पतालको न्युरो सर्जरी आइसियुमा राखेर उपचार भइरहेको छ ।

शरीरमा जलन नभए पनि भित्री चोटहरू देखिएका छन् । ‘उहाँको ढाडको हड्डी दुई वटा ठाउँमा भाँचिएको छ, जसलाई ढाडको लम्बर भन्छौँ । त्यसको अप्रेसनपछि गर्नुपर्ने भनिएको छ ।’ उनी थप भन्छन्, ‘सीटीस्कानबाट हड्डी भाँचिएको देखिएको थियो, त्यसबारे के गर्ने हो भन्ने विषयमा सम्बन्धित डाक्टरसँग समन्वय गर्छौँ ।’

उपचाररत पाइलट शाक्यले उच्च तहका अधिकारीसँग विमान दुर्घटनाबारे छोटकरीमा बयान दिएको बुझिएको छ ।उनले विमान उडान भरेको केही छिनमै खसेको र नियन्त्रणमा लिन नसकेको बताएका उच्च स्रोतले जानकारी दियो ।‘५०÷१०० मिटर उडेपछि विमान खस्यो, कन्ट्रोल गर्नै सकिनँ’ पाइलटको भनाई उद्धृत गर्दै ती अधिकारीले भने ।

सौर्य एयरलाइन्सको सीआरजे ७०० ९ एन–एएमई विमान हिजो दुर्घटना भएको थियो ।