​​​​​​​रास्वपाले चौरासी देख्न नपाउने नै भएको हो त ?

राष्ट्रिय स्वतन्त्र पार्टीको आगमन जति अपत्यारिलो भएको थियो, अवसान त्योभन्दा पनि तीव्र गतिमा हुने देखिएको छ। ‘मिसन ०८४’ भनेर आगामी चुनावमा सबै पुराना दललाई धक्का दिने योजनामा लागेको रास्वपा अहिले आफै संकटको भुमरीमा फसेको छ । संकट पनि यस्ता आइलागेका छन् कि उसले जता हेरे पनि उम्किने ठाउँ लगभग शून्यप्रायः देखिएको छ ।
\

सभापति रवि लामिछाने सुरुमै नागरिकता प्रकरणमा चुके । चुनावलगत्तै सरकारमा जान हतारिनुअघि उनले पहिला आफ्ना आधारभूत कागजात ठिक पार्नु आवश्यक ठानेनन् । राज्यशक्ति आफ्नो हातमा आएपछि कानुन पनि हातैमा आउँछ भन्ने उनले ठाने । तर उनको बलमिच्याइँले काम गरेन । प्रेस काउन्सिलले पहिला नै सतर्क गराइसक्दा पनि उनले राज्यका निकाय र कानुनी संयन्त्रलाई टेर्नुपर्छ भन्ने न्यूनतम ज्ञान र शिष्टता देखाउन सकेनन् । म नै राज्य हुँ र म नै कानुन हुँ भन्ने भ्रमको घोडा चढेर दौडिने क्रममा पहिलोपटक उनी गृहमन्त्रीबाट लडे । सांसद र पार्टी सभापतिको पद पनि गुमाए । भलै उनी पुनः चुनाव उठेर जिते । 
 

तैपनि उनले राहदानी प्रकरणमा उन्मुक्ति पाउने अवस्था छैन । प्रहरी र महान्यायाधिवक्ताले क्लिन चिट दिँदैमा उनलाई अदालतले त्यसैगरी सुनपानी छर्किन्छ भन्ने छैन । विगमा सुन्तली धामी पीडित भएको र मोहम्मद आफ्ताब आलमले ढाकछोप गर्न खोजेको गरी यी दुई प्रकरण हेरे पनि पुग्छ उनले । प्रहरी र महान्यायाधिवक्ताको निर्णय जुनसुकै बेला अदालतबाट उल्टिन सक्छ र हातमा हत्कडी लाग्न सक्छन् । ढाकाकुमार श्रेष्ठले पनि रवि लामिछाने र उनको कोर टिममाथि भयानक प्रश्न उठाएकै हुन् । त्यस विषयमा पार्टीभित्र छानबिनको नाटक रचियो तर त्यो घटना सामसुम पार्ने उद्देश्यले गरिएको थियो । राज्यका कुनै पनि निकायले उक्त प्रकरणको थप छानबिन गर्न आवश्यक ठानेनन् । राज्यले छानबिन नगरे पनि जनताले त्यसको छानबिन मजैले गरेका छन् । जनताले बहीखातामा रास्वपाको हिसाब मजैले राखेका छन् ।यस्तै सहकारी ठगी प्रकरणले पनि रविलाई चैनसँग सुत्न दिनेवाला छैन । रविलाई चौतर्फी संकटले घेरिसकेको छ । संसदीय समितिदेखि प्रहरीको छानबिनले अब जुनकुनै बेला रविलाई कानुनको कठघरामा उभ्याउनेवाला छ । हजार र लाखमा होइन, करोडौँको दरमा गरिएको सहकारीको रकम अपचलनको विषयले रविलाई फौजदारी कसुरका अभियुक्तका रुपमा अदालतमा उभ्याउने लगभग निश्चित भएको छ । यो अवस्थाबाट जोगिन अब उनले जस्तासुकै स्टन्ट गरे पनि सम्भावना लगभग शून्य नै देखाएको छ । 
 

मुकुल ढकालको प्रतिवेदनले रविको पार्टीको वास्तविक अवस्थालाई थप सतहमा ल्याइदियो । अहिले मुकुलले जे बोलिरहेका छन्, ती कुरालाई कतिपयले रविकै टिममा रहेर आत्महत्या गर्न पुगेका शालिकराम पुडासैनीले गरेको मृत्युकालीन घोषणासँग ठ्याम्मै मिलेको ठानिरहेका छन् । अर्थात् रविको विगतदेखि वर्तमानसम्मको विकासक्रम हेर्दा उनी वैध र इमानको बाटो हिँडेका छैनन् भन्नेमा आमनागरिक पुगिसकेका छन् । मुकुल ढकालले सतहमा ल्याइदिएका प्रकरणहरुमा रवि स्वयं बोल्न सकिरहेका छैनन् । उनी नाजवाफ छन् । यो उनका लागि चानचुने धक्का होइन । 
 

उपसभामुख इन्दिरा रानाको प्रकरणले रास्वपाको वास्तविक धरातललाई बुझाउन थप मद्दत गरिरहेको छ । रास्वपा भन्ने पार्टी नभई किर्तेहरुको झुण्ड त होइन भनेर समेत आम मान्छेहरुले चियापसल र सार्वजनिक बसहरुमा कुरा काट्न थालेका छन् । अमेरिकाको भिसा दिलाइदिने भनी ९ लाख रुपैयाँ उठाउनु र काण्ड बाहिर आउन नदिन पार्टीभित्रै सामसुम पार्न त्यो रकम फिर्ता गर्नु चानचुने कुरा होइन । जस्तासुकै फौजदारी अपराधलाई पनि रास्वपाले सामान्य हिसाबले डिल गरिरहेको छ भन्ने एउटा प्रमाण हो । र यसले अरु पनि प्रकरणमा यसै गरिरहेको छ भन्ने बुझ्न गाह्रो पर्दैन । 
 

यही तरिका हो भने अब रास्वपाले ०८४ सम्म देख्न नपाउने निश्चित छ । अब मिसन चौरासी होइन, त्यसअघि नै रास्वपा स्वाहा हुने लक्षण देखिँदै छन् ।