भारतले नेपाललाई आर्थिक वर्ष २०२४-२५ मा ७ अर्ब भारु अनुदान दिने

 दक्षिणी छिमेकी भारतले नेपाललाई आर्थिक वर्ष २०२४-२५ मा ७ अर्ब भारु अनुदान दिने भएको छ । यो रकम भारतसँगको स्थिर विनिमयदर अनुसार ११ अर्ब २० करोड रुपैयाँ हो ।

यो अनुदान त्यहाँको चालु आर्थिक वर्षमा उपलब्ध गराइएको भन्दा ५० करोड भारु (८० करोड रुपैयाँ) ले बढी हो । नयाँ बजेट पेश गर्दै भारतीय वित्तमन्त्री निर्मला सीतारमणले सहायताबारे जानकारी दिइन्‌ ।

चालु आर्थिक वर्षमा भारतले नेपाललाई अनुदानबापत ५५० करोड रुपैयाँ छुट्याएको थियो । बजेट संशोधन क्रममा वित्तमन्त्री निर्मलाले एक अर्ब रुपैयाँ थपेकी थिइन्‌ । अघिल्लो आर्थिक वर्ष २०२२-२३ मा भारतले बजेटमार्फत नेपालका लागि ४ अर्ब ३४ करोड २७ लाख रुपैयाँ अनुदान घोषणा गरेको थियो ।

भारतले पाकिस्तान बाहेक सीमा स्थल तथा जल सीमा जोडिएका छिमेकीहरूलाई वर्षेनी बजेटमा अनुदान छुट्याउने गरेको छ । आफ्नै सुरक्षा छाताभित्र रहेको भुटानलाई भारतले अन्य छिमेकीलाई भन्दा बढी अनुदान दिने गर्छ ।

यो पटक पनि भारतीय अनुदान पाउने छिमेकीको सूचीमा भुटान नै अगाडि छ । दिल्लीले यसपटक थिम्पुलाई २० अर्ब ६८ करोड ५६ लाख रुपैयाँ अनुदान घोषणा गरेको छ । भुटानपछि धेरै अनुदान नेपालले पाएको हो ।