सिराहामा छिमेकीको हत्या गरेको आरोपका फरार अभियुक्त पक्राउ

 सिराहामा छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्नमा गाउँपालिका-२ ब्रहमपुरीका ५२ वर्षीय बच्चु भन्ने बचाइ महतो रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता मुक्तिनाथ सापकोटाले जानकारी दिए 

बच्चुले गत जेठ ३ गते बिहान ब्रहमपुरीस्थित खेतमा सोही ठाउँका ५३ वर्षीय बुधराम महतोलाई कोदालोले हानेर हत्या गरेको आरोप छ ।ट्याक्टर लिएर खेतमा पुगेका बुधरामलाई बचाइले कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।प्रहरीका अनुसार लामो समयदेखि जग्गाको विषयलाई लिएर बुधराम र बचाइबीच विवाद थियो ।

घटनालगत्तै फरार भएका बचाइलाई खोजतलासको क्रममा सिराहाको औरही गाउँपालिका-१ दरहैयास्थित नेपाल-भारतको सीमा क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको डिएसपी सापकोटाले बताए ।

बचाइमाथि कर्तव्य ज्यान मुद्दामा ३ को म्याद थपरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।