लाचार संघ र प्रदेश सरकार, नगरपालिकाका मेयर स्वाब बोकेर आफै परीक्षणका लागि कुद्न थाले

नेपाल माघ १० गते पहिलो कोरोना संक्रमित पुष्टि भएदेखि चैत ११ गते लकडाउन सुरु हुने अवधिसम्म तयारीका लागि दुई महिना समय थियो । लकडाउनपछि पनि संक्रमितको संख्या करिब दुई महिना दुई अंकमै सिमित थियो ।

कोरोनाको महामारी नफैलिएको यही समयमा भारतलगायतका देशबाट स्वदेश फर्कन चाहनेहरुलाई व्यवस्थित रुपमा भित्र्याउने तमाम अवसर थियो ।

तर त्यो अवसर गुमाएर सरकारले महामारीको संक्रमण फैलिसकेपछि भारतलगायतका देशबाट हाजारौँको संख्यामा नेपाली स्वदेश फर्कन वाध्य पार्यो । जसको मार यतिबेला गाउँ गाउँमा परिरहेको छ ।

तर, संघीय र प्रदेश सरकारको उदाशिनता मात्र होइन अकर्मन्यता र अदूरदर्शिताको मार गाउँ गाउँमा कतिसम्म परिरहेको छ त ? यसको बिम्बका रुपमा बाजुराको बुढिगंगा नगरपालिकामा स्वाब परीक्षणको घटनालाई लिन सकिन्छ ।

भारतबाट आएर विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टिनमा १४ दिन बसेकाहरुको स्वाब समयमै परीक्षण हुन सकेको छैन ।

स्वाब संकलनमा मात्र होइन आरडिटी पोजेटिभ आएकाहरुको पनि परीक्षण हुन र रिपोट आउन थप १० औँ दिन लाग्ने गरेको छ ।

यो अवस्थाले आजित भएपछि बुढिगंगा नगरपालिकाका मेयर दिपकबिक्रम शाह भने स्वाब बोकेर आफै परीक्षणका लागि कुद्न थालेका छन ।

परीक्षणका लागि स्वाब संकलन र परीक्षणमा ढिलाई हुन थालेपछि क्वारेन्टिनमा बस्नेलाई मानसिक र भौतिक समस्या थपिएको छ भने नगरलाई व्यवस्थापनको थप जिम्मेवारी र आर्थिक भार व्यहोर्नुपरको नगर प्रमुख शाहको भनाइ छ ।

आफ्नो नगर र गाउँमा कोरोना संक्रमणको अवस्था भयावह बनेपछि नगरप्रमुख आरडिटी पोजेटिभको स्वाब आफै बोकेर रातारात जुम्ला पुगेका हुन । यही सेरोफेरोमा शाहसँग गरिएको संवाद:

आरडिटी पोजेटिभको स्वाब आफै बोकेर हिड्नु पर्ने अवस्था किन आयो ?

संकलन गरेर पठाइएको स्वाबको रिपोट हप्ता १० दिनमा पनि आउन सकेन । त्यसैले आफै स्वाब बोक्न वाध्य भएको हुँ ।

बाजुराको परीक्षण धनगढीमा हुँदै आएको भन्ने छ, तपाईँ जुम्ला किन जानुभयो ?

हाम्रो सुदूरपश्चिम प्रदेश भरिमै एक मात्र परीक्षण केन्द्र छ । धनगढीको त्यो प्रयोगशालामा हामीले यसअघि २०० जना आरडिटी पोजेटिभको स्वाब संकलन गरेर पठाएका छौँ ।

एक हप्ता हुँदा पनि उहाँहरुको रिपोर्ट आएको छैन । धनगढीबाट पनि त्यो स्वाब काठमाडौं पठाइएको भन्ने खबर पाएको छु । यसरी त १४ दिन क्वारेन्टिनमा बसेकाहरुले थप १०, १५ दिन पर्खेर बस्नुपर्ने भयो । त्यसैले जुम्लाको कर्णाली स्वास्थ्य प्रतिष्ठानसँग अनुरोध गरेर उता लगेर गएको हुँ ।

कति जनाको स्वाब कहिले जुम्ला पुर्याउनुभयो ?

आइतबार राती ३३८ जना आरडिटी पोजेटिभ देखिएकाहरुको स्वाब आफैले प्रयोग गर्ने गाडीमा लगेर सोमबार जुम्लाको स्वास्थ्य प्रतिष्ठानमा पुर्याएर मंगलबार राती नै बुढीगंगा आइपुगेको हुँ । जतिसक्दो चाँडो भयो, जनतालाई त्यती नै राहत होस भनेर यसो गर्न वाध्य भएको हुँ ।

तपाईँ अप्राविधिक मान्छे, यसो गर्दा जोखिम हुन्छ कि हुँदैन ?

स्वाबलाई स्वास्थ्यकर्मीहरुले विशेष किसिमिले प्याक गरेर र्यापिङ गर्नुभएको थियो । मसँग हाम्रो स्वास्थ्य संयोजक दिपक शाह पनि हुनुहुन्थ्यो ।

हामीले गाडीलाई स्यानिटाइज गरेर, स्वाब पुर्याएपछि पनि स्यानिटाइज गर्यौँ । स्वाब बोक्दाको जोखिम भन्दा पनि यहाँ क्वारेन्टिनमा बस्नेहरुको मानसिक तनाव, उहाँहरुको दवाव, कसैमा पिसिआर नै पोजेटिभ रहेछ भने पनि त्यसले थप संक्रमण फैलाउने जोखिम पो झन जटिल छ त । त्यसैले जति सकिन्छ, आफूले सकेको गर्ने कोसिस गरेका हौँ ।

अहिले बुढीगंगा नगरपालिकामा कति जना क्वारेन्टिनमा छन ?

हामीकहाँ करिब हजार जना क्वारेन्टिनबाट घर फर्किसक्नुभयो । पछिल्लोपटक भारतबाट स्वदेश आउने संख्या ह्वात्तै बढेपछि अहिले यहाँ १६ सय जना जति क्वारेन्टिनमा हुनुहुन्छ ।

उहाँहरुमध्य ५ सय जनामा आरडिटी पोजेटिभ देखिएको छ । भारतबाट आउने क्रम जारी नै छ । उता पनि संक्रमण फैलिसकेपछि र अव्यवस्थित रुपमा आउनु परेका कारण पनि संक्रमणको उच्च जोखिममा हामी छौँ ।

फेरि यो सुदूरको विकट जिल्ला भएकाले यहाँ उपचारका लागि स्वास्थ्य संस्थाको प्रयाप्त र सुविधायुक्त अवस्था पनि छैन । त्यसैले जति सकिन्छ जोगिने र जोगाउने प्रयास गर्न खोजिएको हो ।

परीक्षणको ढिलासुस्तिले त झन संक्रमण फैलिएला नि ?

चिन्ता नै त्यही हो । देश लकडाउन भएकै तीन महिना भयो । संक्रमणको पहिलो व्यक्ति देखिएदेखि हेर्ने हो भने छ पाँच महिना पुग्यो । अहिलेसम्म पनि संघ र प्रदेश सरकारले सिंगो प्रदेशमा परीक्षण प्रयोगशाला एकबाट दुई बनाउने इच्छाशक्ति देखाएन, त्यसको मार हामी खेपिरहेका छौँ ।

यसरी त समुदायस्तरमै संक्रमणको जोखिम भयो नि । नगरले के पहल गर्यो ?

नगरले गर्ने भनेकै उहाँहरुलाई क्वारेन्टिनमा राख्ने हो । परीक्षण गराएर घर पठाउने हो । हामीले डब्लूएचओको मापदण्डअनुसार १४ दिन होइन परीक्षणको ढिलासुस्तिका कारण २८ दिन, महिना दिन जनतालाई क्वारेन्टाइनमा राख्नुपरेको छ ।

उहाँहरुलाई अरु मापदण्ड पुरा गर्ने कोसिस गरे पनि खान, बस्नकै लागि डेढ करोड खर्च गरिसकेका छौँ । त्यस्तै एक करोड बराबरको राहत नै वितरण गर्यौँ । ल्याब, जनशक्तिको व्यवस्थाका बारेमा प्रदेश र संघीय सरकारले सोचिदिनुपर्ने हो । यति लामो समय त्यति पनि नगरिदिँदा संक्रमण फैलने जोखिम झन बढेर गएको छ ।

भनेपछि तपाईँको क्षेत्र उच्च जोखिममा छ ?

हो, मेरो मात्र होइन सुदूरपश्चिम, कर्णालीका प्राय गाउँ गाउँ जोखिममा छन । तपाईँले पनि सुन्नु भएको होला, क्वारेन्टिनमा १४ दिन बसेर घर गएको हप्ता, दुई हप्तापछि पिसिआर रिपोर्ट पोजेटिभ आएका घटना ।

१४ दिने मापदण्ड पुरा गरेकाहरु जसलाई संक्रमणको कुनै संकेत छैन, उहाँहरुलाई तुरुन्तै परीक्षणको व्यवस्था नभएपछि घर नजाउन भन्न भएन, त्यसरी पनि कतिपय गाउँमा संक्रमण पुगेको छ ।

 कसरी यो जोखिम कम गर्न सकिन्छ ?

जो एक्लै वा कसै व्यक्तिले चाहेर हुने कुरा होइन । विश्व महामारीलाई हरेक जनतादेखि केन्द्र सरकारले महामारीका रुपमा बुझ्नुपर्छ ।

प्रत्यक जनताले आफै जोगिने प्रयास गर्ने हो भने, संक्रमितको पहिचान, व्यवस्थापन, परीक्षण, उपचारमा राज्य सक्रिय हुनुपर्छ । परीक्षण नै नहुने, पठाइएका स्वाबको रिपोट आउनै हप्ता दुई हप्ता लाग्ने हो भने त जोखिम झन बढ्दै जाने पक्का छ ।