प्रचण्डले ओलीविरुद्ध अन्तिम पत्ता खोले, पंगा लिन अघि सरे कुलमान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अब सत्तामा फर्किने सम्भावना लगभग समाप्त भएको छ । नेपाली कांग्रेस र नेकपा एमाले जस्ता दुई ठूला दल मिलेर सरकार बनाएपछि माओवादी लगायत साना दलहरुको भाउ घटेको छ । 

माओवादी २०७० को चुनावबाटै ओरालो लाग्न थालेको हो । उक्त चुनावमा तेस्रो भएको थियो । २०७४ मा माओवादीले आफ्नो अस्तित्व जोगाउन एमालेसँग गठबन्धन गर्न पुग्यो भने २०७९ मा कांग्रेससँग मिलेर बल्लतल्ल ३८ सिट पायो ।

कुनै ठूला दलको फेरो नसमाई माओवादीले एक सिट पनि जित्ने अवस्था छैन । सरकारमा जाँदा कुनै लोकप्रिय काम गर्न नसकेपछि राजनीतिक रुपमा जनतामा कसरी जाने भन्ने अर्का फसाद छ । आफ्ना छोरी, ज्वाइँ र केही विवादास्पत व्यापारीलाई पोस्नेबाहेक अर्को कुनै काम नगरेपछि पार्टीभित्रै प्रचण्ड ‘कू’ मा पर्ने सम्भावना बढेको छ ।  

राजनीतिमा असान्दर्भिक भइसकेका माधव नेपाल र झलनाथ खनालसँग मोर्चाबन्दी गरिरहेका प्रचण्डलाई उपेन्द्र यादवले समेत पत्याउन छाडेका छन् । यस्तो समयमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अलोकप्रिय बनाउन शिखण्डीका रुपमा कुलमान घिसिङलाई अघि सारेका छन् । 

विभिन्न उद्योगहरुको डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने विषयलाई अहिले ओलीविरुद्ध कुलमान घिसिङले सरकारको बद्ख्वाइँ गर्ने अस्त्र बनाउन खोजेका छन् । घिसिङले आफै व्यापारीलाई प्रधानमन्त्रीनिवास निवास बालुवाटार पठाई छलफल आयोजना गर्न लगाए । प्रधानमन्त्री ओलीले पनि व्यापारीका कुरा सुनेर बालुवाटारमै घिसिङलाई तत्काल विद्युत लाइन जडान गरिदिन निर्देशन दिए । 

बालुवाटारबाट फर्केर आइसकेपछि कुलमान मिडियाबाजी गर्न थाले । प्रधानमन्त्रीले भन्दैमा हुन्छ र भन्दै उनले लिखित निर्देशन माग्न थाले । प्रधानमन्त्री व्यापारीबाट प्रभावित भएर प्राधिकरण डुबाउने खेल खेले भनेर हल्ला गर्न थाले । यति मात्र होइन, प्राधिकरणका चारवटै कर्मचारी युनियनलाई उचालेर सरकार विरुद्ध नारा लगाउन प्रायोजित विरोध सुरु गराए । 

खासमा यो कुनै मुद्दा नै होइन । विशुद्ध प्राधिकरण र व्यापारीको मुद्दा हो । यसमा सरकारले निदेर्शन दिनुपर्ने कारण नै छैन । ओली मुछिनुपर्ने वा अघि सर्नुपर्ने पनि कारण छैन । कुलमानले नै व्यापारीलाई बालुवाटार पठाएर भर्खर मात्र सरकारमा आएका प्रधानमन्त्री ओलीलाई उक्साउने काम गरे । अनि कुलमानले नै ओलीलाई बक्यौता नतिर्ने व्यापारीका पक्षपोषक भनेर प्रचार गरे ।

कुलमान र ओलीबीच अघिल्लो कार्यकालमै पनि विवाद भइसकेको हो । कुलमानको म्यान नथपेर ओलीले अर्कैलाई कार्यकारी निर्देशक बनाएका थिए । कुलमानका सबै गडबडीको फेहरिस्त एमालेसँग अहिले पनि छ । तर कुलमान यतिखेर राजनीति गरिरहेका छन् । प्रचण्डको अन्तिम पत्ताका रुपमा उनले काम गरिरहेका छन् । विद्युत प्राधिरकणको स्रोतसाधन उनले माओवादीका स्वार्थका निम्ति खर्च गरिरहेका छन् । 

अब ओली र कुलमान आमनेसामने भएपछि ओली अलोकप्रिय बन्छन् र त्यसको फाइदा माओवादीले लिन पाउँछ भन्ने प्रचण्डको बुझाइ देखिन्छ । मिडिया र सामाजिक सञ्जालमा ओलीलाई खेद्न थालिसकिएको छ ।

ओली पनि आफ्नो अहंकार देखाउन थालिसकेका छन् । यस प्रकरणमा उनले अहंकार देखाउने होइन, कुलमानलाई नै जिम्मेवार बनाएर समस्याको समाधान गर्न लगाउने कला देखाउन सक्नुपर्छ । अन्यथा ओलीका लागि यो प्रकरण महँगो पर्नेछ । उनले आफू प्रधानमन्त्री हुँ र देशकै प्रधानमन्त्री हुँ भन्ने बिर्सनुहुँदैन ।