कांग्रेस र जनमत पार्टीबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेसँगै मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार

नेपाली कांग्रेस र जनमत पार्टीबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेसँगै मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार हुँदैछ।

जनमत पार्टीसँग कांग्रेसले अर्थ मन्त्रालयसहित ४ मन्त्रालय लिने सहमति भएपछि मुख्यमन्त्री सतिशकुमार सिंहले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।आज हुने मन्त्रिपरिषद् विस्तारमा कांग्रेसबाट पर्साका जनार्दनसिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी, रौतहटका सुनिल यादवले अर्थ, धनुषाका शेषनरायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी र सर्लाहीका कौशल किशोर रायले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउँदैछन्।

आफूसहित कांग्रेसका चारै जनाले आजै साँझ ६ बजे शपथ गराउने तयारी रहेको कांग्रेस पर्साका सभापति समेत रहेका क्षेत्रीले टेलिफोनमा जानकारी दिए। मधेस सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम कांग्रेसले एक साताअघि नै टुंगो लगाएको थियो। तर जनमत पार्टी र मुख्यमन्त्री सतिशकुमार सिंहले अर्थ मन्त्रालय आफूसँगै राख्ने अडान लिएपछि मन्त्रिपरिषद् विस्तार हुन ढिला भइरहेको थियो। कांग्रेसले नै अर्थ मन्त्रालय पाउने निश्चित भएपछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो।

यसअघि कांग्रेसले अर्थ मन्त्रालय आफूले नपाए मुख्यमन्त्री सिंहलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनका लागि अर्को विकल्प खोज्ने चेतावनी दिएपछि जनमत अन्ततः अर्थ मन्त्रालय कांग्रेसलाई दिन आज तयार भएको हो।