भारतको उत्तरप्रदेशमा रेल दुर्घटना

 भारतको उत्तरप्रदेश राज्यमा बिहीबार दिउँसो एउटा रेल लिकबाट उत्रिएको छ ।

उत्तरप्रदेशको गोन्डा जिल्लास्थित गोन्डा-मनकापुर खण्डको बीचमा चण्डीगढ एक्सप्रेसका १४ वटा डब्बा पटरीबाट उत्रिएका छन् ।यो दुर्घटनामा तीनजनाको ज्यान गएको छ भने १४ जना अन्य घाइते भएका छन् ।चण्डीगढ एक्सप्रेसको यो रेल पञ्जाबको चण्डडीगबाट गोरखपुर गइरहेको थियो । दुर्घटना मोतीगञ्ज प्रहरी कार्यालय क्षेत्रको पिकौरा गाउँनजिकै भएको हो ।

दिउँसो पौने ३ बजे दुई डिब्बाले सुरुमा पटरी छाडेका थिए । त्यसपछि अन्य १२ वटा डिब्बा पनि पल्टिए । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाबारे जानकारी लिएका छन् । उनले अधिकारीहरूलाई तत्काल घटनास्थल पुगेर उद्धार तीव्र बनाउन भनेका छन् ।मुख्यमन्त्रीले राहत र उद्धारसँगै घाइतेहरूलाई चाँडोभन्दा चाँडो अस्पताल लैजान पनि निर्देशन दिएका छन् ।