ओली सरकारको डुंगा कति सुरक्षित छ ?

प्रधानमन्त्री केपी शर्मा ओली जतिपटक प्रधानमन्त्री भए, निकै शक्तिशाली धरातलमा भए ।

पहिलोपल्ट प्रधानमन्त्री हुँदा उनलाई देशभरिको समर्थन थियो । त्यतिखेर नेपालीहरुका पार्टी अलगअलग भए पनि नेता केपी शर्मा ओली नै थिए । आफ्नो जीवनकालमा, त्यो पनि सत्तामा जाँदा त्यो हदसम्मको समर्थन पाएका नेता सम्भवतः ओलीबाहेक अर्को भेटाउन मुस्किल छ ।

त्यसखबत उनले बलियो समर्थन पाउनुको कारण थियो, भारतीय नाकाबन्दीविरुद्धको चट्टानी अडान । अहिले पनि एउटा तप्काले ओलीलाई नै नेपालको सबैभन्दा राष्ट्रवादी नेता भनेर नै मान्छ । दोस्रोचोटि प्रधानमन्त्री हुँदा तिनै ओलीले लिपुलेक–लिम्पियाधुराको नक्सा संविधानमा राख्न पहलकदमी लिए । देशका सबै दलले त्यसमा समर्थन गरे । त्यसको जस अहिलेसम्मै ओली पाइरहेका छन् । गत आम निर्वाचनमा एमालेविरुद्ध ठूलै घेराबन्दी हुँदा पनि झण्डै देशको पहिलो दल बन्नुमा ओलीको त्यही छविले काम गरेको छ ।
यसरी ओलीले पाएको व्यापक जनसमर्थन जोकोही नेताका लागि लोभ लाग्ने पक्ष हो । एउटा कुनै समयमा कुनै नेताप्रति ठूलो जनमतले समर्थन गर्नु ठूलो कुरा होइन । तर, २०७२ देखि हालसम्मको करिब दशक अवधिसम्म एउटा नेताप्रति जनताको आशा र विश्वास अटल रहनु चानचुने कुरा होइन ।

अहिले त झन् ओलीलाई देशकै सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले समर्थन गरेको छ । कांग्रेसको समर्थन पाएर एमालेको नेता प्रधानमन्त्री बन्न पाउनु अर्को दुर्लभ संयोग हो । देशका दुई ठूला शक्ति एक ठाउँमा भएर त्यसको नेतृत्वमा रहेर सरकार चलाउन पाउनु ओलीका निम्ति गज्जबको अवसर पनि हो । 

यति बलियो र शक्तिशाली प्रधानमन्त्री भएर उनले के काम गर्छन् भनेर अहिल्यै भन्न सकिने कुरा होइन । तर, उनको सफलता भने उनी कसरी चल्छन् भन्ने कुराले निर्धारित गर्नेछ । ओलीले अहिलेसम्म जेजति अवसर प्राप्त गरे, त्यस अवधिमा उनले जनताको जीवनस्तर परिवर्तन र राष्ट्रिय विश्वसनीयता कायम गर्न जति काम गर्न सक्थे, त्यो नगरेको भने तीतो यथार्थ नै हो । 

उनको सबैभन्दा ठूलो कमजोरी मुखाले स्वभाव हो । उनी सानो घेराबाट चल्छन् । आलोचना सहन सक्दैनन् । आलोचकको मुख थुन्न उनी आफै प्रतिवादमा उत्रिन्छन् । उनी आलोचक जमातको पनि प्रधानमन्त्री हुँ भन्ने बिर्सन्छन् । प्रामाणिकता नभएका बहकाउपूर्ण मान्यतालाई बोकेर हिँड्छन् र त्यसैलाई सत्यका रुपमा स्थापित गर्न जिद्दी गर्छन् । आफू पदमा पुगेपछि निश्चित व्यक्तिलाई मात्र अवसर दिन्छन् । एमाले पार्टी भनेको राष्ट्रिय पार्टी हो भन्ने याद गर्दैनन् । झापाली र बालकोटेहरुको प्राधिकारयुक्त संस्थाका रुपमा उनले व्यवहार गर्छन् । 

उनका यिनै कमजोरीका कारण पार्टी फट्यो । उनका यिनै कमजोरीका कारण यसअघिका सत्ता अनपेक्षित रुपमा गुमे । अहिले पनि उनको मुख्य चुनौती यही नै हो । यदि उनले केही उदात्तता देखाउने हो भने मात्र पनि धेरै नतिजामुखी काम गर्न सक्छन् । 

हामीलाई राजनीतिक मुद्दाका वरिपरि रिंगाएको धेरै भयो । अब हामीलाई आर्थिक एजेन्डामा काम गर्ने नेतृत्व चाहिएको छ । विकास र समृद्धिको सपना देखाउने होइन, विपनाको वाहक चाहिएको छ । सिंगापुर र स्विट्जरल्यान्डको प्रलोभन होइन, स्वदेशमै आशा जगाउने अक्किल चाहिएको छ । 

ओलीले यसपालि बडो चतुरतासाथ कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई परराष्ट्रमन्त्री बनाएका छन् । यो सरकारको शक्ति र कमजोरी जे भने पनि आरजु नै हुन् । आरजु एक सामान्य महिला नेतृ मात्र होइनन् । उनी काठमाडौँको एक सम्भ्रान्त र कुलीनवर्गकी प्रतिनिधि हुन् । जन्मिँदै उनको रगतमा राजनीति मिसिएर आएको छ । तसर्थ उनमा राजकाजको भोक र महत्त्वाकांक्षा कम छैन ।

आरजु संसारका जुनकुनै देशका शक्तिशाली नेता र तिनका प्रतिनिधिसँग शिर ठड्याएर आँखा जुधाएर अंग्रेजीमा कुरा गर्न सक्छिन् । अन्तर्राष्ट्रिय समुदायमा उनको आफ्नै सम्पर्क सञ्जाल पनि छ । शक्तिको सम्बन्ध पनि छ । तसर्थ उनले भारत वा चीनभन्दा पनि शक्तिशाली देशसँग कुरा गर्न सक्छिन् । शक्ति सन्तुलन मिलाउन सक्छिन् । तसर्थ, यो सरकारमा आरजुको उपस्थितिलाई लिएर त्यति आलोचना भएको छैन । नेपालका इलिटहरुले उनको उपस्थितिलाई मौन वैधता प्रदान गरेजस्तो देखिन्छ । 

आरजु नै सरकारमा छन् भने देउवाका लागि योभन्दा ढुक्कको विषय अर्को हुने छैन । जयवीरले पनि बाबुबाट जति सिक्नुपर्ने हो, सिकिसके । अब राजकाज सिक्नु छ त आमा आरजुबाट सिक्नु छ । तसर्थ, यो सरकार देउवा परिवारले चाहेको दिनसम्म टिक्छ । त्यसमा पनि आरजुले चाहेको दिनसम्म टिक्छ । आरजु यो सरकारमा बस्न चाहेसम्म देउवाले दायाँबायाँ गर्न सक्ने छैनन् । तसर्थ, यो सरकारको डुंगा अरुले सोचजस्तो ६ वा ९ महिनामै डुबिहाल्ने देखिँदैन । बरु आगामी केही महिनामा आरजुको दर्जा उपप्रधानमन्त्रीमा उकालेर भए पनि ओलीले सत्तारक्षा गर्नेछन् ।

४०/५० करोडभन्दा माथिका भ्रष्टाचारमा ठूला दलहरुबीच सहमति हुन्छ : घनश्याम भूसाल

४०/५० करोडभन्दा माथिका भ्रष्टाचारमा ठूला दलहरुबीच सहमति हुन्छ : घनश्याम भूसाल

उपसभापति अर्याल भन्छन्-रास्वपाबाट तर्सिएर लखेट्न थालियो

उपसभापति अर्याल भन्छन्-रास्वपाबाट तर्सिएर लखेट्न थालियो

देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरू जन्माउनुपर्छ : रास्वपा  उपसभापति अर्याल

देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरू जन्माउनुपर्छ : रास्वपा उप…

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल स्वदेश फर्किए, नयाँ नेतृत्वपछि नेताहरूलाई जिम्मेवारी तोक्ने तयारी

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल स्वदेश फर्किए, नयाँ नेतृत्वपछि नेताहरूला…

सत्ता गुमेको आक्रोशमा प्रचण्डले बंगलादेश बनाउँछु भनेर तर्साउँदै हिँडे : एमाले बास्कोटा

सत्ता गुमेको आक्रोशमा प्रचण्डले बंगलादेश बनाउँछु भनेर तर्साउँदै हिँडे : एमाले…

प्रधानमन्त्री ओलीले फेरि  दोहोर्याउँदै भने-म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्नँ

प्रधानमन्त्री ओलीले फेरि दोहोर्याउँदै भने-म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न …

जनयुद्ध महान नै थियो भने किन छोडेर आएको : प्रधानमन्त्री ओली

जनयुद्ध महान नै थियो भने किन छोडेर आएको : प्रधानमन्त्री ओली

लोसपाले संविधान संशोधनबारे अन्य दलसँग छलफल गर्न बनायाे कार्यदल

लोसपाले संविधान संशोधनबारे अन्य दलसँग छलफल गर्न बनायाे कार्यदल