सामाजिक सञ्जाल फेसबुकमा ‘निःशुल्क स्वास्थ्य जाँच गर्न आउनेले एड्स सारिदिने’ भ्रामक सूचना फैलियाे

सामाजिक सञ्जाल फेसबुकमा पछिल्ला केही दिनयता ‘निःशुल्क स्वास्थ्य जाँच गर्न आउनेले एड्स सारिदिने’ भनिएका पोस्ट शेयर भइरहेको भेटिएको छ ।

नेपाल फ्याक्ट चेकले गरेको तथ्यजाँचले यो जानकारी भ्रामक रहेको पुष्टि गरेको छ । सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा एड्स सारिदिने दाबी गरिएका प्रायः एउटै किसिमको पोस्ट शेयर भइरहेको छ । जसमा भनिएको छ, “यदि कोही व्यक्ति तपाई‌ंको घर आएर हामी मेडिकल कलेजबाट आएका हौं । तपाई‌ंको ब्लड सुगर, प्रेसर निःशुल्क जाँच गरिदिन्छौं भन्यो भने त्यसो नगर्नुहोला । यस्ता व्यक्ति आएमा तुरुन्त पुलिसलाई फोन गर्नुहोला । यस्ता व्यक्तिहरु ISIS आतङ्ककारी हुन सक्छ, तिनीहरुले Injection द्वारा तपाईहरुको रगतमा HIV AIDS VIRUS जस्ता प्राण घातक जीवाणु फैलाई दिन सक्छ ।”

नेपाल फ्याक्ट चेकका अनुसार यो भ्रामक सामग्री हो । यसलाई विश्वसनीय देखाउन पोस्टरमा निशान छाप पनि राखिएको छ । प्रहरी र स्वास्थ्य मन्त्रालयका सम्बन्धित कर्मचारीले यो जानकारी भ्रामक रहेको नेपाल फ्याक्ट चेकलाई जानकारी दिएका छन् । 

यस्तो भ्रामक जानकारी करिब छ वर्ष अगाडि पनि भाइरल भएको थियो । त्यस बेला पनि यसरी नै ‘मेडिकल कलेजका विद्यार्थी हौं’ भन्दै आईएसआईएसका आतङ्कवादी आई एचआईभी इन्फेक्सन गराइदिने दाबी गरिएको थियो ।