संसदमा लाजमर्दो हुने भएपछि राजीनामा दिने मुडमा प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जति दिन सत्ताको बसाइँ लम्ब्याउँदै छन्, उति नै समर्थन र सहानुभूति गुमाउँदै छन् ।

उनका विरुद्धमा उभिन संसदमा दुई तिहाईभन्दा बढी सांसद तयार भइसकेका छन् । १७८ जनाले त हस्ताक्षर नै गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइसकेका छन् । अब कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेतालाई साथ लिएर एमाले अध्यक्ष ओली उक्त हस्ताक्षरको सूची राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउँदै छन् ।दुई तिहाइभन्दा बढीको समर्थन पाउने भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुने निश्चित भइसकेको छ । संविधानको धारा ७६ उपधारा २ अनुसार उनी प्रधानमन्त्री बन्न लागेका हुन् । यस उपधारामा संसदमा रहेका दुई वा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रतिनिधि सभाको सदस्य प्रधानमन्त्री नियुक्त हुने व्यवस्था छ ।
माओवादी अध्यक्ष प्रचण्डले केही दिन उपधारा ३ मा लैजाने कोसिस पनि गरे । त्यसैअनुसार हल्ला पनि पिटाए । उपधारा ३ मा संसदको सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्ने व्यवस्था छ । त्यसो हुँदा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्थे । तर, देउवाले दृढताका साथ एमाले अध्यक्ष ओलीको साथमा उभिएपछि उपधारा ३ मा लैजाने खेल पनि समाप्त भएको छ ।
 

सबैतिरबाट खेलकुद र चलखेलका ढोका बन्द भएपछि प्रचण्ड राजीनामा दिने मुडमा पुगेका छन् । संविधानले दिएको सुविधा उपयोग गर्ने र संसदको सामना गर्ने भन्दै विश्वासको मत लिने भनी फलाकेका उनी अब संसदमा उभिँदा पनि लाजमर्दो हुने स्थितिमा पुगेका छन् । विश्वासको मत लिँदा इतिहासमै कम मत प्राप्त गरेको रेकर्ड बनाउने अवस्था भएको छ । किनभने जम्मा ३२ सिट रहेको माओवादीको पनि पूरा मत उनले पाउनेमा शंका छ । त्यसैले उनी २८ गते संसदमा विश्वासको मत लिने भने पनि २७ गते साँझ नै राजीनामा दिएर सुरक्षित अवतरणको खोजीमा लागेको विश्वस्त स्रोतले जनाएको छ ।

एमाले अध्यक्ष ओलीका पक्षमा कांग्रेसका ८८, एमालेका ७८, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ४, जनता समाजवादी पार्टी (जसपा) नेपालका ५ र नागरिक उन्मुक्ति पार्टीका ३ सांसदले हस्ताक्षर गरिसकेका छन् । त्यसबाहेक जनता समाजवादी पार्टी (जसपा) ले पनि कांग्रेस–एमाले गठबन्धनमा सहभागी हुने निर्णय गरिसकेको छ । केही स्वतन्त्र सांसद पनि ओलीकै पक्षमा छन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सांसद जोगाउनै मुस्किल परिरहेको छ । प्रेम आलेमगर, किसान श्रेष्ठ र धनबहादुर बुढाले नेपालको अवज्ञा सुरू गरिसकेका छन् । अब औपचारिक रुपमा उक्त दल विभाजन गरी एमालेमा समाहित हुन मात्र बाँकी छ । यस खालको परिस्थिति बन्नु भनेको प्रचण्डका लागि अझै प्रतिकूल बन्दै जानु हो ।

कतिपयले अब प्रचण्डले २८ गते संसदमा भाषण गर्ने र आफ्ना कुरा रेकर्ड गराएर त्यहीँबाट राजीनामा घोषणा गर्न सक्ने आकलन पनि गरेका थिए । तर अब उनले संसदमा बोल्ने नैतिक अधिकार र आँट दुवै गुमाएपछि त्यसबाट पनि पछि हट्नुपरेको छ । संसदमा उभिएर बोल्दा झनै अप्रिय अवस्था आउन सक्ने जोखिम उनले देखेका छन् ।

त्यसो त संसदमा उभिएर बोल्ने कुरा पनि उनीसँग छैन । संसदमा रहेका कुनै पनि शक्तिसँग न मत माग्ने नैतिक अधिकार छ, न त उनीहरुको विरोध गर्ने नै हैसियत प्रचण्डसँग बाँकी छ । उनले संसदमा उभिएर कांग्रेसले धोका दियो भन्नु कि एमालेले ? विगतमा सबै प्रकारका शक्तिको ‘उपयोग र धोका’ को नीति लिएका उनले धोका दिन कसैलाई पनि बाँकी छैन । मंगलबार प्रतिनिधि सभाको बैठकमा एक सांसदले प्रस्तुत गरेको तथ्यांअनुसार २०७४ सालयता मात्र पनि उनले कांग्रेस र एमालेलाई मात्र पालैपालो गरी ७ पटक धोका दिइसकेका छन् । त्यसकारण अब उनले संसदमा उभिएर जेसुकै बोले पनि कसैले पत्याउनेवाला छैन । बरु उनीमाथि नै आक्रमण हुन सक्ने जोखिमको आकलन गरिएको छ । तसर्थ प्रचण्डले अब आफ्नो टाउको जोगाउन पनि राजीनामा दिएर लुसुक्क भाग्नुपर्ने अवस्था आएको छ ।