भवानी राणालाई अध्यक्ष बनाउन गरिएको थियो विधान संशोधन, ८ वर्षपछि प्रत्यक्ष अध्यक्षमै फर्किँदै उद्योग महासंघ

उद्योग वाणिज्य महासंघमा अध्यक्ष प्रत्यक्षबाट चुनिन्थे, चुनिदै आएका थिए।

उद्योग वाणिज्य महासंघको विधान २०४९ मै यो व्यवस्था थियो। तर, ८ वर्षअघि यस्तो रणनीति तय गरियो, भवानी राणालाई अध्यक्ष बनाउन विधान नै संशोधन गरियो। ०७३ मा विधान नै संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव पारित भयो। र, नेपाल उद्योग परिसंघकै संरचनामा झैं महासंघमा पनि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्ता लागु भयो। अनि राणा महासंघको १८ औं अध्यक्ष बनिन्। 

भवानीलाई अध्यक्ष बनाउनैका लागि विधान संशोधन गरिएको भनेर त्यतिखेर विरोध भएको थियो। त्यतिखेर पूर्वअध्यक्षहरु प्रदिपकुमार श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, महेशलाल प्रधान, पद्म ज्योति, आनन्दराज मुल्मी, कुशकुमार जोशी, सुरज वैद्य विपक्षमा थिए।  पूर्वअध्यक्ष चण्डीराज ढकाल, पशुपति मुरारका र रविभक्त श्रेष्ठहरूको जोडबलमा विधान संशोधन भएको थियो। तर, राणा अध्यक्षबाट हटेपछि फेरि पुरानै व्यवस्था अर्थात् अध्यक्ष खुलाबाट आउने व्यवस्था गर्ने प्रयास गरियो। राणाको पालामा शेखर गोल्छा महासंघको वरिष्ठ उपाध्यक्ष थिए। आफूलाई अध्यक्ष बन्नबाट रोक्न विधान संशोधन गर्न खोजिएको भन्दै गोल्छा समूहले आपत्ति जनायो। र, विधान संशोधन भएन्। गोल्छा पनि अध्यक्ष बने। गोल्छापछि  चन्द्रप्रसाद ढकाल अध्यक्ष छन्। अहिले अञ्जन श्रेष्ठ महासङ्घको वरिष्ठ उपाध्यक्ष छन्। उनी पनि त्यही लाइनबाट आगामी महाधिवेशनबाट अध्यक्ष बन्नेछन्। तर, महासंघमा वरिष्ठ उपाध्यक्ष नै अर्काे कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था भएपछि वरिष्ठ उपाध्यक्षमा नै हानथाप हुन थालेको थियो।  अध्यक्ष कार्यकारी पद भए पनि महासंघ नै वरिष्ठ उपाध्यक्षले चलाउछन् जस्तो भान बाहिर हुन थालेको थियो। 

यही अवस्थालाई लिएर अब हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठपछि लागू हुनेगरी विधान संशोधन प्रस्ताव अघि बढाइएको छ।  वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको ८ वर्षपछि महासंघ फेरि प्रत्यक्ष निर्वाचनबाट नै अध्यक्ष चयन हुने व्यवस्थामा फर्किन लागेको हो। असार २४ गते बसेको कार्यसमिति बैठकले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था खारेज गरिदिएको छ। आगामी कात्तिकमा हुने विशेष साधारणसभाले कार्यसमितिको निर्णय अनुमोदन गर्नेछ।