संविधानमा दोष देखाएर कांग्रेस-एमालेले मुलुकलाई ध्रुवीकरणको दिशातिर लैजाँदै छन् : ऊर्जामन्त्री बस्नेत

ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दुई ठूला पार्टीले मुलुकलाई ध्रुवीकरणको दिशातिर लैजान खोजेको बताएका छन् ।

संघीय संसद् भवनमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै माओवादीका उपमहासचिवसमेत रहेका बस्नेतले कांग्रेस र एमालेको सत्ता साझेदारीको आधार नै संविधान तोडफोड रहेको बताए । अब संविधानको रक्षा गर्नेतिर लाग्नुपर्ने उल्लेख गर्दै मन्त्री बस्नेतले भने, ‘अहिले जुन नयाँ समीकरणको कुरा आइरहेको छ, यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ छैन । यो सोचको कुरा हो, दृष्टिकोणको कुरा हो ।'

नयाँ गठबन्धन निर्माणको आधार संविधानको तोडफोड गर्ने दुईले नै सार्वजनिक गरिसकेकाे उल्लेख गर्दै मन्त्री बस्नेतले भने, 'अब प्रश्न संविधानको रक्षा गर्ने, मुलुकलाई जोड्ने हो । उहाँहरूले मुलुकलाई ध्रुवीकरणको दिशातिर लैजान खोजिरहनुभएको छ ।'माओवादी केन्द्रले संविधानको विषयलाई गम्भीरताका साथ लिनुपर्ने उनकाे भनाइ छ । 'मुलुकका दुई ठूला दलले संविधानलाई दोष देखारहनुभएको छ,'उनले भने, 'उहाँहरू जनताको अधिकार सीमित गर्ने बाटोमा हिँडिरहनुभएको छ ।’ 

देशलाई आर्थिक विकास र समृद्धिको दिशामा लैजानुपर्ने उनले बताए ।