प्रचण्डका कारण राष्ट्रपति भएको भ्रम पौडेलले यसकारण त्याग्नुपर्छ

अहिले देशमा सबैभन्दा ठूलो आशंका राष्ट्रपति रामचन्द्र पौडेलमाथि छ ।

संसदका सबैभन्दा ठूला दुई शक्ति मिलेर सरकार बनाउन तयार हुँदा पनि राष्ट्रपति पौडेलले भाँजो हाल्छन् कि भनेर अहिले सामाजिक सञ्जालदेखि चियागफमा मात्र होइन, नेपाली कांग्रेसभित्र पनि व्यक्त–अव्यक्तरुपमा शंका भएको देखिन्छ । कतिपय सांसदहरुले संसदमै पनि यो कुरा उठाइसकेका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस–एमालेको सहमतिबमोजिम संविधानको धारा ७६ उपधारा २ अनुसार सरकार बन्न दिँदैनन् र उनले उपधारा ३ मा लैजान्छन् भन्ने व्यापक आशंका र भय एउटा तप्कामा छ । त्यस्तै अर्को तप्काले उनीसँग यही अपेक्षा पनि गरिरहेको देखिन्छ । उनकै अनुहार हेरेर अनेकन षड्यन्त्र र जालझेल बुन्ने काम प्रधानमन्त्रीको कुर्सीबाटै भइरहेको छ ।

प्रस्ट शब्दमा भन्दा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस पृष्ठभूमिका राष्ट्रपति रामचन्द्र पौडेलको साँटगाँठले कतै मुलुकको राजनीतिक कोर्स नै ट्र्याकबाहिर जाने हो कि भन्ने व्यापक आशंका उब्जिएको छ । प्रधानमन्त्री प्रचण्डको उक्साहट र जाल प्रपञ्चमा परेर राष्ट्रपति पौडेलले उपधारा ३ मा लगेर देउवालाई प्रधानमन्त्रीको कुर्सीमा राख्ने हुन् कि भनेर अहिले सार्वजनिक छलफलको विषय बनेको छ । 

राष्ट्रपति पौडेलमाथि यति धेरै आशंका गर्नुपर्ने खास कारण छन् । एक, पौडेल आफै कुनै अडान नभएका नेतामा पर्छन् । आफूले पाएको पद आफ्नो राजनीतिक कदले पाएको हो भन्नेमा उनलाई विश्वास छैन । माओवादी अध्यक्ष प्रचण्डको कृपाबाट यो पद पाएको हो भन्ने हीनग्रन्थीले उनलाई गाँजिरहेको छ । त्यसैले प्रचण्डको गुन तिर्नुपर्छ भन्ने भ्रममा उनी बाँचिरहेको पाइन्छ ।

अब उनले त्यो भ्रम त्याग्नुपर्छ । पौडेललाई राष्ट्रपति बनाएको प्रचण्डले होइन । नेपाली कांग्रेसजस्तो बलियो, लोकतान्त्रिक र इतिहासको विरासत भएको पार्टीका कारण उनी राष्ट्रपति बन्न सम्भव भएको हो । उनले थप के बुझ्न जरुरी छ भने, बरु प्रचण्ड नै कांग्रेसका कारण अहिलेसम्म राजनीतिमा टिकिरहेका छन् । प्रचण्ड कांग्रेसको बुइँ नचढेका भए अहिले राजनीतिमा उनी अस्तित्वशून्य भइसक्ने थिए ।

कांग्रेसकै कारण उनकी छोरी रेनु दाहाल चितवनको भरतपुरमा दुईपटक मेयर भइसकेकी छन् । उनका कारण कांग्रेसले कति ठूलो बदनामी र राजनीतिक क्षति बेहोर्नुपरेको थियो भन्ने हिसाब निकालेर अहिले पनि हेरे हुन्छ । शीतलनिवासको बसाइँ यसै पनि फुर्सदिलै हुन्छ ।

कांग्रेस र एमाले दुई प्रतिस्पर्धी शक्ति हुन् । तर ऐन–मौकामा यिनीहरु मिल्नैपर्ने हुन्छ । राजनीतिक स्थायित्वका लागि र मुलुकमा व्याप्त खहरेहरुको अराजकता नियन्त्रणका खातिर दुई ठूला शक्ति मिलेर निश्चित समझदारीका साथ अगाडि बढ्नैपर्छ । यी दुई शक्ति मिलेर केही वर्षका लागि खास समझदारीसाथ रोडम्याप अगाडि बढाउन सके मुलुकमा व्याप्त निराशा चिर्न सम्भव हुनेछ । अन्यथा यो देश बस्नलायक छैन भनेर कोही पनि युवा यहाँ बस्ने छैनन्, गएकाहरु फर्कने छैनन् । 
यसकारण पनि राष्ट्रपति पौडेलले प्रचण्डले दिएको मनोवैज्ञानिक दबाबबाट बाहिरिनु आवाश्यक छ । र, उनले अब प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेर कामचलाउ भइसकेका कारण पदबाट बर्खास्त गर्नुपर्छ । नयाँ सरकार निर्माणको प्रक्रिया अविलम्ब अगाडि बढाउनुपर्छ र २४ घण्टाभित्र नयाँ शक्तिशाली प्रधानमन्त्री आउने वातावरण बनाउनुपर्छ । आर्थिक वर्षको अन्तिममा प्रचण्डको निजी हिसाबकिताब मिलाउन मात्र उनलाई पदमा राखिरहनु देशहितमा छैन । राष्ट्रिय हित, संविधानको संरक्षण र लोकतान्त्रिक व्यवस्थाको जगेर्नाका लागि पनि राष्ट्रपति पौडेलले केही न केही कदम चाल्नैपर्छ । र, माओवादी अराजकताबाट देशलाई मुक्त गर्न भूमिका खेल्नैपर्छ ।