सिम्रौनगढका प्रमुख प्रशासकीय अधिकृतसमेत पाँच जनालाई भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौं २४ असार:, बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत पाँच जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेषका सदस्यहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । 

उनीहरुविरुद्ध ७ असोज ०८० मा मुद्दा दायर भएको थियो । मधेश प्रदेश सरकारको अनुदानबाट सञ्चालित योजनाहरुमध्ये उक्त नगरपालिकाको वडा नं. ८ कचोर्वास्थित जनता माविको निर्माण कार्यमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । 

प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीले प्राविधिकले तयार गरेको मूल्यांकन र भुक्तानीका लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी गरेको दाबी अख्तियारको थियो । यसरी ६ लाख ५८ हजार रुपैयाँभन्दा बढी भुक्तानी दिएको भन्दै उक्त रकम बिगो कायम गर्दै मुद्दा चलाइएको थियो । 

हानीनोक्सानी गरेको भन्दै दायर मुद्दामा विशेषले सफाइ दिएको हो । यस मुद्दामा जनता माविको भवन निर्माण समितिका अध्यक्ष रामबाबु प्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवलाई समेत प्रतिवादी बनाइएकोमा सफाइ दिने फैसला भएको हो ।