बालेनका नाममा बडाल र बेनको जुहारी, ‘ट्रोल नेपाल’ किन भयो डिएक्टिभ ?

 काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र एमालेबीचको टकराव गहिरिँदै गएको छ । शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख निशाना बनाउन थालेपछि सो पार्टीका कार्यकर्ता र समर्थक नराम्ररी भड्किएका छन् ।

एमाले पंक्तिले सामाजिक सञ्जालबाट बालेनको कडा प्रतिरोध सुरु गरेका हुन् । यसको साइड इफेक्टस्वरुप आज एउटा चर्चित फेसबुक पेज ‘ट्रोल नेपाल’ अचानक डिएक्टिभ गरिएको छ । एमालेको भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडाल र बालेनका सल्लाहकार कुमार बेनको फेसबुक जुहारीपछि ट्रोल नेपाल डिएक्टिभ भएको हो । यो पेज कुमार बेनले सञ्चालन गर्दै आएको बताइन्छ ।

बडालले बेनलाई निशाना बनाएर स्टटास लेखेका थिए । त्यसमा उनले बालेनको नाममा बेनले विभिन्न अनियमितता गरेको आरोप लगाएका छन् । महानगरपालिकाको ढुकुटीबाट लाखौं रुपैयाँ लिएर बेनले विभिन्न फेसबुक पेज चलाइरहेको र ती पेजमा ओलीका विरुद्ध जेहाद छेडिएको बडालको आरोप छ ।

 

यो स्टाटसमा जवाफ दिँदै बेनले कटाक्ष गरेका छन्, ‘यो स्टाटस डिलिट नगर्नुहोला, यो राखेर लोन लिनुपर्छ । बैंकले यत्तिकै लोन दिँदैनथ्यो, यो कमाइ देखेसी अब पक्कै दिन्छ ।’

यो सवालजवाफ भएको केही बेरपछि नै ट्रोल नेपाल विनासूचना डिएक्टिभ भएको हो । समिक बडालको स्टाटसकै कारण यो पेज डिएक्टिभ गरिएको अखिल कार्यकर्ताको दाबी छ ।समिकको स्टाटसमा कुमार बेनले गरेको कमेन्टमाथि अनेरास्ववियुका नेता कार्यकर्ताले धुइरो लागेर उनीमाथि महानगरको साधन स्रोत र बजेटमा भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।एमाले कार्यकर्ताले मेयर बालेनले विद्यासुन्दरको पालामा भएका कामको फोटो आफूले गरेको भनेर प्रचार गरेको र अहिले सडकमा राखिएका प्रति टायलको २० रुपैयाभन्दा बढी मूल्यमा किनेर भ्रष्टचार गरेको आरोप लगाएका छन् ।

ट्रोल नेपाल,थग्स अफ नेपाल,मिम नेपालजस्ता पेजहरुबाट कुमार बेनले अरु नेता तथा कलाकारहरुविरुद्ध अश्लील तथा आपत्तिजनक कमेन्ट गरेको भनेर उनीहरुले लगातार कमेन्ट गरेपछि ६ लाख ७० हजार फलोअर्स भएको ट्रोल नेपाल डिएक्टिभ भएको देखिन्छ ।

अखिल प्रवक्ता प्रकाश पौडेलले लेखेका छन्, ‘बालेनका स्वकीय सचिव कुमार बेनले सञ्चालन गर्ने (Troll Nepal) नामको पेज अहिले हटाइएको छ । हामीले प्रश्न सोधेका थियौं, के ट्रोल नेपाल र काठमाडौं महानगरको विचार एउटै हो ?’

यस विषयमा बुझ्न बेनसँग सम्पर्क प्रयास गर्दा उनको फोन रिसिभ भएन ।