एमाले मन्त्रीको राजीनामा तत्काल स्वीकृत, जसपाको मन्त्रीको राजीनामा भने पेन्डिङमा

अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीले दिएको राजीनामा ४ दिनदेखि पेन्डिङमा बसेको छ ।

प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता लिँदै जसपाका ३ मन्त्रीले असार २१ गते साँझ राजीनामा दिएका थिए ।   जसपाका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह र स्वास्थ्य राज्यमन्त्रीमा हसीना खानले राजीनामा दिएका थिए । ४ दिन बितिसक्दा पनि सम्बन्धित मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उनीहरूको नाम हटेको छैन ।

नेकपा एमालेका ८ मन्त्रीको राजीनामा भने भोलिपल्ट स्वीकृत गरिएको थियो । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ नेतृत्वका मन्त्रीहरूले १९ गते राजीनामा दिएका थिए । भोलिपल्टै शीतल निवासले विज्ञप्ति जारी गरेको थियो ।

उनीहरूको राजीनामा स्वीकृत गरेर राष्ट्रपति कार्यालयमा पठाइसकेको निमित्त मुख्यसचिव लीलादेवी गड्तौलाले नेपाल प्रेसलाई बताइन् । अझै पनि मन्त्रालयको वेबसाइटमा नाम नहटेको विषयमा राखिएको जिज्ञासामा उनले राष्ट्रपति कार्यालयबाट संघीय संसदलाई जानकारी गराएपछि प्रक्रिया पूरा हुने बताइन् ।

जसपाले समर्थन फिर्ता र मन्त्रीहरूको राजीनामाबारेको जानकारी सोमबार (आज) मध्यान्हतिरमात्र आइपुगेको राष्ट्रपति कार्यालयकी प्रवक्ता सहसचिव शैलजा रेग्मीले बताइन् । राष्ट्रपतिबाट राजीनामा स्वीकृत भएर सम्भवत: सोमबार नै संसदलाई जानकारी गराइने उनको भनाइ छ ।