प्रतिनिधिसभा बैठकमा एमाले र माओवादीका सांसदबीच दोहोरी

 नेकपा एमाले र नेपाली माओवादीका सांसदबीच दोहोरी चलेको छ । नेकपा एमालेले नेपाली कांग्रेससँग सत्ता समीकरण बनाउने सहमति गरेसँगै राजनीतिक दलहरूबीच गीतमार्फत दोहोरी चल्न थालेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाउन बालुवाटार पुगेको बेला ‘फत्तेमानराज भण्डारीको ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैलेकैले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले…’ भन्ने बोलको गीत गाएका थिए । त्यस बेलादेखि सुरु भएको गीतका भाकाहरूले संसद्मा पनि प्रवेश पाएको हो ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद ठाकुर गैरेले गीतमार्फत नै प्रचण्डलाई जवाफ दिएका थिए । उक्त प्रसंग उप्काउँदै सांसद गैरेले बरू, ‘उडायो सबै सपना हुरिले भन्ने गीत गाए हुने नि’ भन्दै कटाक्ष गरे ।

गैरे बोलेको केहीबेर पछि नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले पनि गीत गुन्गुनाएरै एमालेलाई जवाफ दिए । ‘कुन्ती मोक्तानले एउटा गीत भन्नुभएको छ, कति जल्छौ आरिसले अझै जल्दै गर । म त हिँड्छु आफ्नै बाटो खुट्टा तान्दै गर । रे ग रे सा सा रे ग रे सा…,’ उनले भने ।