सर्वाेच्चमा एकैदिन तीनसय एकहत्तर मुद्दा फैसला

काठमाण्डौ, २४असार :सर्वाेच्च अदालतमा आइतबार पेशीमा तोकिएका मुद्दामध्ये तीन सय एकहत्तर वटा मुद्दा अर्थात् उनान्सत्तरी प्रतिशत मुद्दा फैसला भएका छन् ।

सर्वोच्च अदालतमा दैनिक पुरक सूचि र साप्ताहिकमा चढेर आएका पांचसय एकचालिस मुद्दामध्ये तीनसय एकहत्तर वटा मुद्दा फैसला भएका हुन् ।

एउटा तीनसय वटा लगाउमा रहेको मुद्दा न्यायाधीशत्रय हरिप्रसाद फुयाल, अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासबाट फैसला भएसंगै तीनसय एकहत्तर वटा मुद्दा फैसला भएको हो । अन्य इजलासबाट समेत आइतबार उल्लेख्य प्रगति भएको पाइएको छ ।

प्रायः दशदेखि बाह्र प्रतिशत फैसला गरिरहेको सर्वाेच्च अदालतको आइतबारको फैसला सबैभन्दा धेरै प्रतिशतको रुपमा मान्न सकिन्छ ।  सर्वाेच्च अदालतले पांचबर्ष नाघेका मुद्दालाई फैसलाको अभियानकै रुपमा अघि बढाएको छ । 

सर्वाेच्च अदालतले यो बर्ष २०७० देखि २०७५ सम्म दर्ता भएका अभियानका मुद्दाहरुको प्राथमिकताका साथ अन्तिम सुनुवाई भइरहेका छन् । सर्वाेच्च अदालतले पुराना मुद्दालाई प्राथमिकता दिनेगरी अभियान फांटमार्फत फैसलाको अभियानको रुपमा मुद्दाहरु अगाडि बढाइरहेको छ । न्यायपरिषद्ले धेरै मुद्दामा फैसला गर्ने न्यायाधीशलाई सम्मान गर्ने भएकोले असार महिनामा आइपुग्दा न्यायाधीशमा समेत मुद्दाको फैसलामा होड चल्ने गरेको पाइन्छ ।

सर्वाेच्च अदालतमा हरेक साता पांच सातसय अभियान फांटका मुद्दा चढ्ने गरेको भएतापनि प्रतफिल भने आसाध्यै न्यून रहेको, अभियान फांटका मुद्दाहरु अघि बढ्न नसकेको, फच्र्छाैट दर आशाप्रद नरहेको अवस्था छ । 

खासगरी अभियान फांटका मुद्दामा लिखतबदर, जालसाजी, खिचोला, मोहीका विवाद लगायतका मुद्दाहरु एकसंग अर्काे जोल्ठिएर आउने गरेकोले एउटा मुद्दाको फाइल खोल्दै सकभर दिन जाने अवस्था छ । 

सर्वाेच्च अदालतमा न्यायाधीशका चार पद खाली हुंदा मुद्दाको सुनुवाई प्रभावित भएतापनि न्यायिक नेतृत्वले न्यायाधीश नियुक्ति गर्न सकिरहेको छैन । न्यायपरिषद् ऐन, २०७३ को दफा ४ ले सर्वाेच्चको न्यायाधीश पद खाली हुने एकमहिनाअघि नै सिफारिस गर्नुपर्ने भएतापनि त्यसको पालना हुन सकेको छैन । 

प्रधानन्यायाधीशले अवकाशपूर्वको बिदा लिन अब ५५ कम दिन बांकी रहंदासम्म नियुक्तिको सुरसार नहुनु, सत्ता परिवर्तन र न्यायपरिषद्मा भएको परिवर्तनले न्यायाधीश नियुक्तिमा असर गरिरहेको छ । एकखाले व्यक्तिहरु नियुक्ति हुनै लागेको बेला अब अर्कै अनुहारका व्यक्तिहरु नियुक्ति हुने स्पष्टतः संभावना बनीसकेको छ ।