महिना दिनसम्म चटपटे र पानीपुरी बेचेर वार्षिक १८ लाख कमाइ

चटपटे र पानीपुरी व्यापारलाई आम्दानी हुने व्यापारभित्रै लिइन्छ । तर, त्यो सबै ठाउँ र सबै व्यक्तिमा लागू हुँदैन । महिना दिनसम्म चटपटे र पानीपुरी बेचेर सामान्य खर्चसमेत नउठेका उदाहरण यही समाजमा छन् । अर्कोतर्फ चटपटे र पानीपुरी बेचेरै घर-घडेरी जोडेका उदाहरण पनि यहीँ छन् ।

पानीपुरी बेचेर महिनाको लाखभन्दा बढी कमाइ हुन्छ भन्दा विश्वास नलाग्न सक्छ । तर, छोटुलाल यादव पानीपुरी बेचेरै महिनाको एक लाख रुपैयाँभन्दा बढी कमाउनुहुन्छ । काठमाडौंको बसुन्धरामा विगत २५ वर्षदेखि उहाँले चटपटे पानीपुरी व्यवसाय गर्दै आउनुभएको छ । यादवको वास्तविक घर रौतहट भए पनि व्यावसायिक रूपमा अहिले काठमाडौंको बसुन्धरामा बस्दै आउनुभएको छ । उहाँका अनुसार पानीपुरी र चटपटे बेचेरै दैनिक चारदेखि पाँच हजारसम्म नाफा हुने गरेको छ । उहाँको नाफालाई आधार मान्ने हो भने उहाँले महिनाको डेढ लाख र वार्षिक १८ लाख बढी कमाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘चटपटे र पानीपुरी बेचेर राम्रो आम्दानी गरिरहेको छु ।’

१० वर्षको उमेरबाट नै यो व्यवसाय गर्दै आएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘१० वर्षको उमेरमा आफ्नो आफन्तसँग काठमाडौं आएको हुँ । त्यो बेला नेपाली भाषा पनि जान्दिन थिएँ तर भाषा सिकेपछि यो व्यवसायमा लागेको हुँ ।’ उहाँका दुई भाइ पनि यही पेशामा संलग्न छन् । तीन दाजुभाइ अहिले काठमाडौंमा एकै ठाउँमा बस्दै आए पनि फरक–फरक ठाउँमा यही व्यवसाय सञ्चालन गरिरहेका छन् ।

उनीहरू तीनजना मिलेर सामान बनाउँछन् र आ-आफ्नो ठाउँमा व्यापार गर्न जान्छन् । तीनजना दाजुभाइ नै बसुन्धराका फरक–फरक ठाउँमा व्यापार गर्दै आएको उहाँले सुनाउनुभयो । यादवको विगत २५ वर्षदेखिको अनुभव सुन्दा पहिलाभन्दा अहिले व्यापार निकै कम भएको छ । तर, आम्दानी भने बढेको छ । उहाँ भन्नुहुन्छ, ‘पहिलेको तुलनामा व्यापार कम छ तर बढीमा बिक्री हुँदा थोरै बेचे पनि धेरै फाइदा हुन्छ ।’ युवाहरू विदेशिनु र यो खाने ग्राहक बढी युवा नै हुँदा व्यापार घटेको उहाँको अनुभव छ ।

यादव भन्नुहुन्छ, ‘म आफ्नो कामप्रति एकदम सन्तुष्ट र खुसी छु, पढाइलेखाइ छैन योभन्दा बढी के गर्न सक्छु र ? कि अरूको ज्याला मजदुरी गर्नुपर्‍यो त्योभन्दा त यही काम ठीक छ । मन लाग्दा परिवारसँग भेट्न त पाएको छु ।’ सुरु-सुरुमा बाटो हिँड्नेले खासै चटपट खाँदैन थिए । उहाँ भन्नुहुन्छ, ‘पहिला-पहिलाका मान्छे खानै आउँदैन थिए । फाट्टफुट्ट आउँथे ।’ व्यापार नभएपछि उहाँलाई अत्यास लागेको थियो । ‘व्यापार छाडेर फेरि घर नै जाऊँ जस्तो पनि लागेको थियो,’ उहाँ भन्नुहुन्छ । तर, उहाँ व्यापार भएको दिन धेरै खुसी र नभएको दिन निराश कहिल्यै हुनुभएन । उहाँ कुनै दिन राम्रै व्यापार हुन्छ भनेर आश गरेरै बसिरहनुभयो । ‘कुनै न कुनै समयमा मेरो पालो आउँछ भन्ने लाग्थ्यो । म कहिल्यै पनि आत्तिइनँ ।’

अहिले महानगरपालिकाको डर भने रहेको यादव भन्नुहुन्छ । अहिलेसम्म महानगरपालिकाले उहाँको ठेला दुईपटक उठाएको उहाँ सुनाउनुहुन्छ । त्यसमा एकपटकमा १४÷१५ हजार नोक्सान भएको छ । यादव भन्नुहुन्छ, ‘हाम्रो व्यवसायलाई डर भनेकै महानगरपालिका हो । हुन त सडकमा बसेर व्यापार गर्न नमिल्ने हो । सटर राख्यो ग्राहक आउँदैनन्, सडकमा राख्यो उठाएर लैजान्छ । बरु महानगरपालिकाले हामीबाट पनि कर उठाएर सडकमा राख्न दिए राम्रो हुन्थ्यो ।’ ‘मान्छेलाई पानीपुरी चटपटे यसरी सडकमै खाने बानी परेको छ, सटरमा यही पानीपुरी नमिठो हुन्छ भन्छन्,’ उहाँ भन्नुहुन्छ । अहिले भने ठेला सडकभन्दा थोरै भित्र रहेकाले महानगरपलिकाको पनि डर नभएको उहाँ सुनाउनुहुन्छ ।