सरकार छाड्न छाडेर ढिपी कस्दै प्रचण्ड र माओवादीका मुख्यमन्त्रीहरु

एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा छ। संसदीय राजनीति अनुसार अल्पमतमा परेपछि सरकार छाड्नुपर्छ। नयाँ सरकार बन्न नसक्ने स्थिति भएमा मात्र अल्पमतको सरकार चलाउने गरिन्छ।

तर, नेपालमा राजनीतिक नैतिकताको खडेरी छ। प्रचण्ड राजीनामा दिन तयार छैनन् बरु २८ असारमा विश्वासको मत लिने बताइरहेका छन्। उनले विश्वासको मत नपाउने निश्चित छ।कांग्रेस र एमालेले पनि प्रचण्डलाई राजीनामा दिन अनुरोध गरिसकेका छन्। बरु धमाधम नीतिगत निर्णय गरिरहेका छन्।प्रचण्डकै लाइनमा छन् माओवादी र एकीकृत समाजवादीका मुख्यमन्त्रीहरु। माओवादीले बागमती र लुम्बिनी तथा सुदूरपश्चिममा एकीकृत समाजवादीले सरकार छाड्नुपर्ने हो। यी प्रदेशमा कांग्रेस र एमाले गठबन्धनको स्पष्ट बहुमत छ।

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल कुर्सी छाड्न तयार छैनन्। उनी विश्वासको मत लिने बताइरहेका छन्। बरु उनले नीतिगत निर्णय गरिरहेका छन्। मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारले आइतबार मात्र चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चालु आवमा विनियोजन गरिएको रकममध्ये बाँकी रहेको १ करोड ८० लाख रुपैयाँ बजेट तत्काल उपलब्ध गराउने निर्णय गरेको छ। प्रदेश सरकारले चालु आवमै अघिल्लो पटक ५ करोड रुपैयाँ भरतपुर महानगरपालिकालाई उपलब्ध गराइसकेको थियो। यो बैठकमा एमालेका मन्त्रीहरु उपस्थित थिएनन्।

केन्द्रको सत्ता समीकरणबाट बाहिरिसकेको नेकपा एमालेले बागमतीमा हालसम्म समर्थन फिर्ता लिएको छैन।बैठकमा मुख्यमन्त्रीसहित माओवादी केन्द्रका चार जना मन्त्री गंगानारायण श्रेष्ठ, युवराज दुलाल र कुमारी मोक्तान, नेकपा एकीकृत समाजवादीका ३ जना मन्त्री डा राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल र रमा आले मगर उपस्थित थिए। एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार मुख्यमन्त्री जम्कट्टेललाई भेटेर सोमबार राजीनामा बुझाउने तयारी भएको छ।

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले पनि कुर्सी छाडेका छैनन्। जसपाले ९ असारमा समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिनुपर्नेमा अड्डी कसेर बसेका थिए। हाल एमालेले पनि समर्थन फिर्ता लिइसकेको छ। तर, महरा संसद फेस गर्ने तयारीमा छन्। लुम्बिनीमा माओवादीका ११ सांसद छन्। यहाँ एमाले र कांग्रेसले राजीनामा दिन भनिरहेका छन्।
 

सुदूरपश्चिममा एकीकृत समावादीका मुख्यमन्त्री दीर्घ सोडारी मुख्यमन्त्री छन्। उनी पनि कुर्सी छाड्न तयार छैनन्। कांग्रेस र एमालेले संयुक्त रुपमा आइतबारवक्तव्यमार्फत मुख्यमन्त्री सोडारीको राजीनामा मागेका छन्। कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलद्वारा हस्ताक्षरित वक्तव्यमा एमालेले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिसकेको, सोडारी सरकार अल्पमतमा परिसकेको र अब सरकारमा बसिरहन मुख्यमन्त्रीलाई नैतिक आधार नभएकाले भन्दै मार्ग प्रशस्त गर्न भनेका छन्। साथै उनीहरुले बहुमत गुमाइसकेका मुख्यमन्त्रीले दैनिक कामकाजबाहेक कुनै पनि काम नगर्न आग्रह गरेका छन्।

सरकारको मुख्य साझेदार दल एमालेले सरकारबाट समर्थन फिर्ता र मन्त्रीहरु बाहिरिएपछि एकीकृत समाजवादीका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका हुन्। एमालेले बिहीबार समर्थन फिर्ता लिनुका साथै आफ्नो पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई राजीनामा गराएको थियो।