तनहुँमा पहिरोले पुरिंदा बेपत्ता भएका थप दुई जनाको शव फेला

 तनहुँको शुक्लागण्डकी नगरपालिका-७ काउरेमा पहिरोले घर पुरिंदा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ ।

शनिबार दिउँसो पहिरोले हिरा नेपालीको घर पुरिदाँ उनी सहित ३ जना पहिरोमा पुरिएका थिए । उनीहरूमध्ये हिराको शव शनिबार नै फेला परेको थियो ।बेपत्ता भएका अनिषा बास्तोला र श्याम भण्डारीको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।

हिरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा छिमेकी बास्तोला र भण्डारी पनि पहिरोमा पुरिएका थिए ।

पहिरोमा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीया रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली पनि घाइते भएका छन् ।

घाइतेहरुको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।