नारायणी नदीमा बाढी आएपछि जोखिममा रहेका १ सय ७१ जनालाई सुरक्षित स्थानमा सारियाे

 लगातारको वर्षाले नारायणी नदीमा बाढी आएपछि जोखिममा रहेका १ सय ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

नारायणी नदी किनार आसपासका भरतपुर महानगरपालिका वडा नम्बर १६, ३, १७ लगायतका नदी किनारका बाढी जोखिम क्षेत्रमा बसोबास गर्नेहरुलाई सुरक्षित स्थानमा सारिएको हो ।चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भरतपुर–१६ गुम्बाचोकबाट पुरुष २६ र महिला ३३ गरी जम्मा ५९ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

भरतपुर–३ मा रहेको सडक बालबालिका पुनर्स्थापना केन्द्र हाम्रो घर नामक संस्थामा रहेका २४ जना बालबालिका र दुई जना महिला कामदार गरी जम्मा २६ जनालाई नजिकै रहेको एग्रोभेटको भवनमा सारिएको छ भने भरतपुर–१७ गोब्रेनीस्थितमा १७ घरधुरीका ५४ जना मानिसहरुलाई आफन्तहरुको घरमा सुरक्षित स्थानमा सारिएको छ ।

भरतपुर–३ बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने ४ जनालाई ९३ पुरुष, १ महिला०लाई आफन्तको घरमा सारिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।त्यसैगरि भरतपुर–१ देवघाटस्थित नारायणी नदीको किनारमा रहेको वृद्धाश्रम, कुटी र स्थानीय बासिन्दा गरी जम्मा २८ जना ‍(२५ पुरुष, ३ महिला)लाई नजिकैको मारवाडी समाजको भवनमा सुरक्षित साथ सारिएको उनले बताए ।

लगातारको वर्षाका कारण नारायणीमा आएको बाढीले भरतपुर–३ को न्यूरोड र नगरवन जोड्ने झोलुंगे पुल बगाएको छ । शनिवार राति साढे ११ बजेको समयमा बाढीले झोलुंगे पुलको दुवै तर्फको पिल्लर भत्काइ पूर्ण रुपमा क्षति भएको प्रजिअ यादवले जानकारी दिए ।

चितवनमा बिहानैदेखि पानी परिरहेको छ । नारायणी नदीमा बाढीको सतह अझै पनि सतर्कता तह माथि रहेको छ । नारायणी पुल जलमापन केन्द्रमा बाढीको सतह ११.७४ मिटर र देवघाटमा बाढीको सतह ८.८५ मिटर रहेको छ ।