प्रतिनिधि सभा बैठक बस्दै

 प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् । त्यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गर्नेछन् ।

त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन आ.व. २०७९/२०८०’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।