भारतमा नेपालीसहित ४ जनाको घाँटी रेटिएको अवस्थामा शव फेला

काठमाडौँ, २३ असार : भारतको मेघालयमा नेपालीसहित ४ जनाको घाँटी रेटिएको अवस्थामा शव भेटिएका छन्।

शनिबार उम्प्लेङ बजार पछाडि चार शव फेला परेको त्यहाँको प्रहरीले जनाएको छ। पूर्वी जैन्तिया हिल्स (ईजेएच) मा स्थानीय अधिकारीहरूले विशेष अनुसन्धान टोली (एसआईटी) मार्फत घटनाको छानबिन गरिरहेको बताएका छन्।

प्रहरी उपरीक्षक, ईजेएचका गिरी प्रसादले घटनाको पुष्टि गर्दै एसआईटी गठन गरी अपराधको अनुसन्धानलाई तीव्रता दिइएको जानकारी सञ्चार माध्यमलाई दिएका छन्।

हालसम्म प्राप्त विवरणअनुसार मृत्यु हुनेमा नेपालको इलाम घर भएका रवि राई पनि छन्। अन्य पीडितको सनाखत हुने क्रममा रहेको बताइएको छ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर एवं नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले दिएको जानकारी अनुसार २३ वर्षीय राई आफ्नी दिदीसँग बस्ने गरेका थिए। दिदी दूतावासको सम्पर्कमा रहेको उनले बताए। यस्तै एकजना धरान र एकजना भोजपुर घर भएका व्यक्ति रहेको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए। एक जना भने स्थानीय आदिवासी रहेको उनको भनाइ छ।

उनका अनुसार प्रहरीसँग दूतावासले नियमित जानकारी लिइरहेको छ। घटना अनुसन्धानकै क्रममा रहेकाले धेरै जानकारी प्रहरीबाट पनि प्राप्त हुन नसकेको उनको भनाइ छ। 

हाल शवहरू सिभिल अस्पताल, खिल्हरियात लगिएको छ, जहाँ पोस्टमार्टम गरिनेछ।सुरक्षा अधिकारीहरुका अनुसार शवहरू हात बाँधिएको र धेरै चोटका दागहरूसहित फेला परेका थिए। घटनाको प्रकृति हेर्दा क्रूर र पूर्वनियोजित आक्रमणको संकेत रहेको सुरक्षा अधिकारीहरुले बताएका छन्।

घटना एकै दिन र एकै ठाउँ भएको हो कि होइन भन्ने अझै स्पष्ट नभइसकेको चतुर्वेदीको भनाइ छ। फरकफरक समय र ठाउँमा हत्या गरेर एक ठाउँमा ल्याएर शव फालेको हो कि एउटै घटना हो भन्ने विषय अन्योलमै रहेको उनले बताए।