वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

ओलीलाई प्रधानमन्त्री बन्न नदिन प्रचण्डको दौडधुप, भारत पठाए दुत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस र एमालेको गठबन्धन भत्काउने कसरतमा लागेका छन्।

कांग्रेस र एमालेबीचको सहमतिअनुसार अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली बन्दैछन्। यी दुई दलसँग बहुमत पनि छ।तर, एमाले कांग्रेसतिर लागेपछि आफ्नो प्रधानमन्त्री पद खुस्किँदा रिसले चुर भएका प्रचण्ड दौडधुपमा लागेका छन्। उनी जसरी पनि ओलीलाई प्रधानमन्त्रीबाट रोक्ने प्रयासमा लागेका छन्।यसका लागि प्रचण्डले विदेशी शक्ति पनि गुहारेका छन्। प्रचण्डको दुत बनेर माओवादी नेतृ पम्फा भुसाल र लामो समयदेखि नेपालमा बस्दै आइरहेका विवादास्पद छविका अमेरिकी नागरिक चाल्र्स मेण्डिज नयाँ दिल्ली पुगिसकेका छन्। 

https://barnanmedia.com/news/detail/181849/

पतनको डिलमा पुगेका प्रचण्डको गोटी किन बनिरहेका छन् रवि ?

बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेसहित चारै सांसद गोजीमा राजीनामा बोकेर बालुवाटार पुगेका थिए ।

सरकार अल्पमतमा परिसकेपछि सत्तामा बस्नु ‘राजनीतिक नैतिकताअनुरूप नहुने’ निष्कर्षसहित बालुवाटार पुगेका उनीहरूले फर्किँदा नैतिकता कता बिर्सिए भन्ने पत्तै नपाएको देखिन्थ्यो । केहीबेरको प्रचण्ड मन्त्रणामा मुग्ध भएका उनीहरू नैतिकताको तिलान्जली दिएर केही दिनका लागि भए पनि सत्ताकै चास्नीमा फर्किन पुगे । 

नयाँ, युवा र स्वतन्त्र भनिएकाहरूमा देखिएको यो तहको सत्तालिप्सा र नैतिकताविहीन कदम नेपाली जनताले सायदै अपेक्षा गरेका थिए । बरू उनीहरूभन्दा नैतिक त अशोक राईजस्ता पुराना र पाका नेताहरुमा देखियो, जसले राजीनामा बुझाएर पार्टीलाई अल्पमतको सरकारबाट अलग गराए । 

https://barnanmedia.com/news/detail/181855/

व्यापारीको पोल खोल्ने सीईओ चिनौँ

राजन सिंह भण्डारी सिटिजन्स बैंकका पूर्वकार्यकारी अधिकृत (सीईओ) तथा निवर्तमान अध्यक्ष हुन् । संस्थापनाकालदेखि करिब १७ वर्ष उनले त्यहाँ बिताएको देखिन्छ । त्यसअघि उनी नेपाल राष्ट्र बैंकको उच्च पदसम्म पुगेर २६ वर्ष काम गरे । बैंकिङ क्षेत्रमा काम गर्दाको अनुभव समेटेर उनले हालै ‘आफैँलाई नियाल्दा’ पुस्तक प्रकाशित गरेका छन् ।

करिब ३०० पृष्ठको किताबमा उनले मुख्य दुईवटा काम गरेका छन् । एक, देशका धेरै व्यापारीको पोल खोलेका छन् । दुई, आफ्नै परिवारभित्रको कलह छताछुल्ल पारेका छन् ।हरेक पेसा–व्यवसायका आआफ्नै सीमा र संवेदनशीलता हुन्छन् । जस्तो कि चिकित्सकले आफ्ना बिरामीका निजी विषयमा थाहा भएका सबै जानकारी सार्वजनिक गर्दैनन् । कानुन व्यवसायीले आफ्ना ‘क्लाइन्ट’ले मुद्दाको रोहमा व्यक्त गरेका सूचना र जानकारी निजको अनुमतिबेगर सार्वजनिक गर्नु आचारसंहिता विपरीत हुन्छ । त्यस्तै व्यापारी र व्यवसायीहरुका बारेमा बैंकरले पनि सूचना सार्वजनिक गरिदिनु पेसागत रुपमा कति उचित हो भनेर बहस हुन सक्छ ।

https://barnanmedia.com/news/detail/181885/

स्याङ्जामा पहिरामा पुरिएर तीनजनाको मृत्यु, पाँचजना घाइते

शनिबार बिहान ५ बजेतिर घरमाथिबाट एक्कासी आएको ठूलो पहिरोले माधवप्रसाद शर्माको घर पुर्यो। माधवप्रसाद र उनकी श्रीमती गुह्यश्वरी शर्मा जसोतसो उम्किए।

पक्की घर नै पुरिए पनि जसोतसो ज्यान जोगाएका उनीहरू सुरक्षा खोज्न परको करिब एक किलोमिटर माथि रहेको ईश्वरी लम्सालको घरमा पुगे।छिमेकी ५८ वर्षीया हरिदेवी शर्मा पनि लम्सालकै घरमा शरण लिन पुगिन्। घटना स्याङ्जाको विरुवा गाउँपालिका ६, लामाखेतको हो। तर, सुरक्षा खोज्न हिँडेका यी तीनैजनालाई विपत्‌ले छाडेन।ओत लागेको घरमाथि नै दिउसो एक बजेतिर पहिरो खस्यो। पहिरोमा पुरिएर ६६ वर्षीय माधव  र ६५ वर्षीया  गुह्येश्वरी शर्मा दम्पति तथा ५८ वर्षीया हरिदेवी शर्माको निधन भयो।

प्रधानमन्त्री दाहाल नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भेटवार्ता गरेका छन्। सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री दाहालले कांग्रेस नेता कोइरालासँग शनिबार बालुवाटारमा भेटवार्ता गरेका हुन्।प्रधानमन्त्री दाहालले संविधानको धारा ७६(३) बमोजिम सरकार बनाउन कोइरालासँग प्रस्ताव गरेको बालुवाटार स्रोतले जानकारी दियो। नेकपा एमालेसँग सत्ता सहकार्य गर्नु त्यति उचित नहुने भन्दै उनले कांग्रेस नेतृत्वमै सरकार बनाउन कोइरालासँग सहयोग मागेका थिए।

भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा राज्यका १० जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको थियो ।

वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने व्यक्तिलाई चट्याङ लागेर धेरैको मृत्यु भएको अधिकारीले बताएका छन् ।

बहुजन समाज पार्टीका नेता आर्मस्ट्रङको हत्या आरोपमा आठ जना पक्राउ

तल्लो जातका भारतीयको अधिकारको पक्षमा वकालत गर्ने एक राजनीतिज्ञको हत्या गरेको आरोपमा भारतमा शनिबार आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बहुजन समाज पार्टी (बसपा) का तामिलनाडु प्रदेश प्रमुख के आर्मस्ट्रङको शुक्रबार राति दक्षिणी शहर चेन्नईस्थित उहाँको घर नजिकै धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।इन्डियन एक्सप्रेस पत्रिकाका अनुसार तामिलनाडु राज्यको राजधानी चेन्नईस्थित आर्मस्ट्रङको घर नजिकै साथी र समर्थकसँग गफ गरिरहेका बेला मोटरसाइकलमा आएका छ जनाको एक समूहले आक्रमण गरेको थियो । आक्रमणपछि उनीहरूलाई कसैले हस्तक्षेप गर्नुअघि नै ती व्यक्ति भागेको बताइएको छ ।

काठमाडौँमा ‘के-पप वर्ल्ड फेस्टिभल’ सम्पन्न

कोरियन पप सङ्गीतप्रेमीका लागि मनोरञ्जन दिलाउने र कोरियाको आधुनिक संस्कृतिको अनुभूति गराउने उद्देश्यका साथ आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपालस्थित गणतन्त्र कोरियाली राजदूतावासको आयोजनामा ‘के–पप वर्ल्ड फेस्टिभल’ सम्पन्न भएको छ ।

सन् २०११ देखि दक्षिण कोरियाको छाङ्वोन सहरमा आयोजना हुने ‘के–पप वल्र्ड फेस्टिभल’लाई लक्ष्यित गर्दै नेपालमा सन् २०१६ देखि कोरियाली राजदूतावासले के–पप क्षेत्रीय प्रारम्भिक चरणको कार्यक्रम आयोजना गर्ने गरेको छ । 

रास्वपाले आइतबारका लागि बोलाएको संसदीय दलको बैठक स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबारका लागि बोलाएको संसदीय दलको बैठक स्थगित गरेको छ।आइतबार बिहान साढे ९ बजे पार्टी संसदीय दलको कार्यालयमा बस्नेगरी तय भएको बैठक विशेषकारण स्थगित गरिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए। बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, संसदका काम र अन्य विविध विषयमा छलफल हुने बताइएको थियो।रास्वपाले नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता सहकार्यको तयारी भएसँगै सरकारबाट बाहिरिने बताएको छ।सत्तारुढ दलसमेत रहेको रास्वपाले फेरिएको सत्ता गठबन्धनमा नजाने यसअघि बताइसकेको छ।

एशिया कप खेल्ने महिला क्रिकेट टिमको बिदाई

नेपाल क्रिकेट संघ (क्यान) ले एशिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिने खेलाडीको बिदाई गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीले महिला क्रिकेट टिमलाई बिदाई गरेका हुन् ।   

महिला एशिया कपमा जुलाई १९ देखि हुने यस प्रतियोगितामा नेपाल भारत, पाकिस्तान र युएईसहित समुह ए मा रहेको छ । एशिया कप अघि नेपाली महिला टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट टिमसँग जुलाई १६ मा अभ्यास खेल खेल्ने क्यानले जनाएको छ । एशिया कप खेल्न इन्दु बर्माको कप्तानीमा १५ खेलाडी छानिएको छ । जसमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी रहेका छन् ।

तनहुँमा पहिरामा परी तीन बेपत्ता

शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरामा परेर आज तीनजना बेपत्ता भएका छन् ।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो गएको पहिरामा परेर स्थानीय तीनजना बेपत्ता भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता हुनेमा स्थानीय ४० वर्षीय हीरा नेपाली, ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । पहिरामा परेर बेपत्ता भएकाको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

ओखलढुंगामा पहिरोले खाजाघरसहितको घर बगाउँदा दुई जना घाइते

ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं १२ स्थित जिविस टोलमा खाजाघर, किराना पसलसहितको जस्ताको घर बगाउँदा दुईजना घाइते भएका छन् ।

खाजाघर र पसलसहितको जस्ताको घर बगाउँदा हाेटल सन्चालन गर्ने ३५ वर्षिया इन्दीरा खत्री र उहाँकी छोरी १३ वर्षिया लक्ष्मी विष्ट घाइते भएका छन् । घाइते आमाछोरी दुवै जनाको सामुदायिक अस्पताल मिसन सोब्रुमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

केन्द्रमा सरकार नफेरिँदै प्रदेशहरूमा नयाँ हलचल

राजनीतिक स्थिरता दिने उद्घोषसहित कांग्रेस-एमालेले सरकारदेखि संविधान संशोधनसम्मका प्याकेजमा सहमति गरेपछि प्रदेश सरकारमा पनि प्रभाव सुरू भएको छ ।

मुलुकका दुई ठूला दलबीचको समझदारीको मसी सुक्न नपाउँदै प्रदेशमा नयाँ सरकारको हतारो सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल राजीनामा नदिई विश्वासको मत लिने अडानका कारण नयाँ गठबन्धनको सरकार बन्न अझै समय लाग्ने देखिएको छ । तर, सरकार फेरबदलको कसरतले काठमाडौंमा पानी पर्दा प्रदेशहरूमा छाता ओढ्ने पुरानै रोगले संघीयताप्रतिको वितृष्णालाई बल पुगेको छ ।