स्याङ्जामा पहिरामा पुरिएर तीनजनाको मृत्यु, पाँचजना घाइते

शनिबार बिहान ५ बजेतिर घरमाथिबाट एक्कासी आएको ठूलो पहिरोले माधवप्रसाद शर्माको घर पुर्यो। माधवप्रसाद र उनकी श्रीमती गुह्यश्वरी शर्मा जसोतसो उम्किए।

पक्की घर नै पुरिए पनि जसोतसो ज्यान जोगाएका उनीहरू सुरक्षा खोज्न परको करिब एक किलोमिटर माथि रहेको ईश्वरी लम्सालको घरमा पुगे।छिमेकी ५८ वर्षीया हरिदेवी शर्मा पनि लम्सालकै घरमा शरण लिन पुगिन्। घटना स्याङ्जाको विरुवा गाउँपालिका ६, लामाखेतको हो। तर, सुरक्षा खोज्न हिँडेका यी तीनैजनालाई विपत्‌ले छाडेन।ओत लागेको घरमाथि नै दिउसो एक बजेतिर पहिरो खस्यो। पहिरोमा पुरिएर ६६ वर्षीय माधव  र ६५ वर्षीया  गुह्येश्वरी शर्मा दम्पति तथा ५८ वर्षीया हरिदेवी शर्माको निधन भयो।

विरुवा–६ का वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार, गुह्येश्वरी र हरिदेवीको तत्काल उद्दार गरिए पनि ज्यान जोगिएन भने पुरिएका माधवको बढो कष्टसाथ शव निकालिएको हो। ‘बिहान ५ बजेतिर नै घरको तीन सय मिटरमाथिबाट आएको पहिरोबाट उहाँहरु जोगिनुभएछ र सुरक्षित ठाउँ खोज्न माथि (ईश्वरीप्रसाद लम्सालको घर) जानुभएको रहेछ तर त्यहाँ पनि पहिरो आएपछि उहाँहरुको निधन भएको हो,’वडाध्यक्ष क्षेत्रीले भने,‘ पहिरोमा परी ईश्वरीप्रसाद, उहाँका परिवारका सदस्यहरू पनि घाइते हुनुभएको छ। उहाँहरुलाई सामान्य चोट छ।’

हजुरआमाको साथ लागेर त्यहाँ पुगेका एक बालक भने पहिरोबाट बचेको उनले बताए। भाग्यले बाँचेका उनी हरिमायाका नाती हुन्। ‘आफ्नो घरमाथिबाट आएको पहिरोबाट  पनि बँचेका उनी ओत लाग्न गएको घरमा पहिरो आउँदा बाहिर खेल्दै रहेछन्,उता झ्यालबाट निस्केर सकुशल रहेका उनी यता पनि भाग्यले सकुशल नै रहेका छन्,’वडाध्यक्ष क्षेत्रीले भने।वडाध्यक्ष क्षेत्रीका अनुसार, अहिले सम्भावित खतरालाई मध्यनजर राख्दै नागरिकलाई सुरक्षित स्थलतर्फ लगिएको छ।

‘वर्षा केही कम भएको छ तर ज्याग्दी खोला गड्गडाएको छ। बाटो चाहिँ  अवरुद्ध छ, अवस्था दुःखद छ,’ उनले भने।